काठमाडौं- सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपाल-भारतको सीमा विवादलाई अहिल्यै अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको बताएका छन्।
आइतबार राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा सांसदहरूले सीमा विवादको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने माग गरेपछि दाहालले भने, 'अहिले नै अन्तर्राष्ट्रिय अदालतमा लगिहाल्ने बेला भयो कि भएन सोचिहालौं।' उनले भारतले कूटनीतक समाधान नचाहे अर्कै उपाय अवलम्बन गर्नुपर्ने बताए। त्यस्ताे उपाय सबै दल मिलेर तय गर्नुपर्ने उनकाे भनाइ थियाे।
अध्यक्ष दाहालले सुगौली सन्धियता अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन पहल हुनुपर्ने बताए। उनले भने, 'यो विषय धेरै गम्भीर र पुरानो छ। धेरैपटक छलफल हुँदै आएको छ।'
सडक नै निर्माण गरेपछि सीमा विवादले नयाँ स्वरुप लिएको उनले बताए। अध्यक्ष दाहालले भारतसँग गम्भीर रूपमा कूटनीतिक असन्तुष्टि जनाइएको पनि जानकारी गराए। सीमाका विषयमा कहिले कसले गल्ती गरे भन्नेबारेमा समीक्षा हुनुपर्ने पनि दाहालको भनाइ थियो। उनले भने, 'विगतदेखि अहिलेसम्म किन फिर्ता गर्ने पहल भएन? अहिलेसम्मका सरकारहरूले के गरे भन्ने समीक्षा गर्ने बेला आएको छ।'