आज आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका सबै शाखा खुल्ने भएका छन्। सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारी संस्थामार्फत् अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो।
नेपाल बैंकर्स संघले पनि सबै बैंकका सम्पूर्ण शाखा खोल्न आग्रह गरेको छ। एक पटकमा पाँच जनाभन्दा बढी सेवाग्राहीलाई प्रवेश नदिने, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागिसमेत अनिवार्य गरिएको छ।
लकडाउनको अवधिमा बैंकले आलोपालो सेवा दिँदै आएका थिए। शाखा कार्यालय नजिक रहेका एटिएम काउन्टर बन्द गरिएका थिए भने अन्य स्थानमा एटिएम सञ्चालनमा ल्याइएको थियो।
आजदेखि नै काठमाडौं उपत्यकामा सवारीसाधन चलाउन टाइम कार्ड लागू हुने भएको छ।
कोरोना संक्रमणको जोखिम कम गर्न र भीडभाड नियन्त्रणको लागि टाइम कार्ड लागू गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
जसअनुसार सरकारी कार्यालयका गाडी र कर्मचारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय पुगिसक्न र बेलुका ५ देखि ६ बजेसम्म घर फर्किने समय निर्धारण गरिएको छ।
त्यस्तै, तरकारी र खाद्यान्न बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्ने छ।
बैंक, वित्तीय संस्थाका गाडी तथा कर्मचारी भने बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनुपर्ने छ।
निर्माण सामग्री बोक्ने गाडी राती ८ बजेदेखि बिहान ६ बजेसम्म चलाउनुपर्नेछ। औषधि र पानी बोक्ने गाडी भने जुनसुकै समय पनि गुड्न पाउने छन।