दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकमा कोरोना भाइरसबाट एक लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन्।
दक्षिण एसियाका यी आठ देशमा हालसम्म कोरोना संक्रमित सङ्ख्या एक लाख सात हजार ४८४ पुगेको छ भने दुई हजार ९४९ जनाको मृत्यु भएको छ।
भारतमा सबैभन्दा बढी संक्रमित रहेका छन्। शनिबारसम्ममा भारतमा ५९ हजार ८८१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने एक हजार ९९० जनाको मृत्यु भइसकेको छ। भारतमा १७ हजार ९५६ संक्रमित व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन्।
त्यस्तै पाकिस्तानमा २७ हजार ४७४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने ६१८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। पाकिस्तानमा सात हजार ७५६ व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन्।
अर्को बढी प्रभावित एसियाली मुलुक बाङ्लादेशमा शनिबारसम्म कोरोना भाइरसबाट १३ हजार ७७० जना संक्रमित बनेका छन् भने २१४ जनाको मृत्यु भएको छ। बङ्गलादेशमा दुई हजार ४१४ जना उपचारपछि निको भई घर फर्किएका छन्।
अफगानिस्तानमा चार हजार ३३ जना यस भाइरसका कारण संक्रमित भेटिएको छ भने यहाँ ११५ जनाको मृत्यु भएको छ। अफगानिस्तानमा संक्रमितमध्ये ५०२ जना निको भई घर फर्किएका छन्।
यस्तै श्रीलंकामा ८४४ जना संक्रमित रहेका छन् भने ९ जनाको मृत्यु भएको छ।
माल्दिभ्समा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमति हुनेहरुको सङ्ख्या ७६६ पुगेको छ भने तीन जनाको मृत्यु भएको छ। यहाँ २६० संक्रमित निको भई घर फर्किएका छन्।
नेपालमा हालसम्म ११० जना र भुटानमा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।