भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडकको उदुघाटन गरेको भन्दै नेपाल सरकारले आपत्ति जनाएको छ।
भारतको यस्तो कदमले नेपाललाई दुःखी तुल्याएको परराष्ट्र मन्त्रालयद्वारा आज (शनिबार) जारी विज्ञप्तिमा जनाइएको छ।
लिम्पियाधुरा, कालापानी र लिपु लेकसहित काली (महाकाली) नदीको पूर्व क्षेत्र नेपाली भूभाग हो भन्ने कुरा नेपाल सरकारले विगतदेखि नै पटक(पटक दोहोर्याउँदै आएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
पछिल्लो समयमा पनि यो कुरा नेपाल सरकारले धेरै पटक दोहोर्याएको र भारत सरकारलाई सम्बोधन गरिएको विज्ञप्तिमा स्मरण गराइएको छ । भारतले जारी गरेको नक्शाका सम्बन्धमा कूटनीतिक नोटसमेत पठाइएको परराष्ट्रको भनाइ छ।
भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्घाटन गरेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ।
आजमात्रै अनेस्ववियूले लौनचौरस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गर्ने तयारी गरेको थियो। तर, प्रदर्शन अगाडि नै प्रहरीले अनेरास्ववियूका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।
यसै विषयलाई लिएर प्रदर्शनमा उत्रिएका ३३ जनालाई प्रहरीले माइतीघरबाट नियन्त्रणमा लिएको छ।
यसैगरी प्रमुख प्रतिपक्षी दलले यसबारे सरकारको धारणा माग गरेको छ ।
साझा पार्टीले भारतले सबै अतिक्रमित भूमि छोडेर नेपाली भूमिमा सडक निर्माण गरेकोमा क्षमायाचना गर्नुपर्ने बताएको छ।
भारतीय कदम अन्तर्राष्ट्रिय कानुनविपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको साझा पार्टीले जनाएको छ।
साझाले सीमा अतिक्रमण र नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषय सुल्झाउन नेपालका तर्फबाट परिणाममुखी कूटनीतिक संवाद हुन नसक्नु दुखद् भएको बताएको छ।
साझाले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ, ‘भारतबाट बारम्बार सीमा अतिक्रमणका घटना हुनुमा हाम्रो कूटनीतिक कमजोरी पनि उत्तिकै जिम्मेवार छ।’