जनकपुरधाम- सप्तरीको भारदहस्थित क्वारेन्टिनबाट १९ जना भारतीय फरार भएका छन्। हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहको कोसी ब्यारेज नजिक रहेको क्वारेन्टिनमा राखिएका कोरोना शंकास्पद १९ जना भारतीय फरार भएका हुन्।
उनीहरु तीन दिनअघि भागेको बताइएको छ। फरार सबैजनालाई १५/१६ दिनअघि क्वारेन्टिनमा राखिएको थियो। गत फागुनमा भएको मुस्लिमहरुको कार्यक्रममा सहभागी हुन उनीहरु सप्तरी पुगेका थिए।
फरार भारतीयको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। सप्तरीका डीएसपी तिलक भारतीले फरार भएकाहरुको खोजी भइरहेको जानकारी दिए।
सबैजनाको कोरोना जाँच भइसकेको र सबैको रिपोर्ट निगेटिभ रहेको उनले बताए। डीएसपी भारतीले बिहान उठेर गन्ती गर्दा संख्या घटेपछि उनीहरु क्वारेन्टिनबाट फरार भएको पत्ता लागेको बताए।
‘उनीहरुलाई राखिएको क्वारेन्टिन खुला स्थानमा छ, बिहान गन्ती गर्दा संख्या नपुगेपछि १९ जना भागेको बुझियो,’ उनले भने, ‘उनीहरुको खोजी गर्न प्रहरी जुटेको छ।'