काठमाडौं- नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालसहित तीन जनाविरुद्ध अपहरण तथा शरीर बन्धक अभियोगमा काठमाडौं प्रहरीमा मुद्दा दर्ता भएको छ।
वैशाख १० गते राति महोत्तरीबाट पूर्वआइजीपी खनाल तथा सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठले सांसद सुरेन्द्र यादवलाई अपहरण गरी काठमाडौं ल्याएको भन्दै काठमाडौं सरकारी वकिलका कार्यालयमा अपहरण तथा शरीर बन्धकमा मुद्दा दर्ता भएको थियो।
कार्यालयले त्यही मुद्दा अनुसन्धानका लागि शुक्रबार काठमाडौं प्रहरीलाई पठाएको परिसरका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।
उनले तीन जनाविरुद्ध अपहरण तथा शरीर बन्धक अभियोगमा मुद्दा दर्ता भएकाले अनुसन्धान अघि बढाइइने बताए।
यसैगरी अपहरण आरोपित तीनैजनाले पीडित भनिएका सांसद यादवसहित पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र विश्वदीप पाण्डेविरुद्ध साइबरर अपराध अभियोगमा दिएको उजुरी पनि दर्ता भएको ज्ञवालीले बताए।
यसअघि प्रहरीले पूर्वआइजीपी खनाल र सांसदद्वय बस्नेत र श्रेष्ठविरुद्धको मुद्दा दर्ता गर्न नमानेपछि यादव मुद्दा लिएर सरकारी वकिल र राष्ट्रिय मानवअधिकार आयोग पुगेका थिए।