काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सांसदहरुलाई नीति तथा कार्यक्रमका पक्षमा बोल्न निर्देशन दिएका छन्।
बालुवाटारमा शुक्रबार केही सांसदसँग भएकाे भेटमा उनले सरकारद्वारा प्रस्तुत हुने नीति तथा कार्यक्रमका पक्षमा बाेल्न निर्देशन दिएकाे नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए।
गुरुङका अनुसार अहिलेको अवस्थामा संसदीय दलको बैठक बस्न सक्ने नभएकाले लिखित रुपमै निर्देशन दिन लागिएको छ। ‘आज छलफल भएको हो। संसदीय दलमा छलफल गर्ने कुरा भएको थियो। तर, कोरोनाले संसदीय दलको बैठक बोलाउने अवस्था छैन’, गुरुङले नेपाल समयसित भने, त्यसकारण लिखित रुपमै निर्देशन दिने कुरा भएको छ।’
नीति तथा कार्यक्रम संसदमा जेठ दुई २ गते प्रस्तुत हुने कार्यक्रम छ। सरकारबाट असन्तुष्ट रहेका सत्तारुढ नेकपाकै सांसदहरु नीति तथा कार्यक्रमको विरोध गर्न सक्ने सम्भावना पनि छ।