कोरोना भाइरस महामारीका कारण अमेरिकी बालबालिकामा खाद्य संकट उत्पन्न भएको छ। उनीहरुले पर्याप्त भोजन गर्न नपाएको निष्कर्ष एक अध्ययनले निकालेको छ।
खान नपाएर पनि बालबालिकामा स्वास्थ्य संकट देखा पर्न सक्ने अध्ययन प्रतिवेदनमा औंल्याइएको छ। बक्रिंग्स इन्स्टिच्युटको अध्ययनअनुसार १२ वर्षभन्दा कम उमेरका १७ प्रतिशत आमाले पैसा नभएका कारण पर्याप्त मात्रामा खानेकुरा खुवाउन नपाएको बताएका छन्।
अध्ययनमा सहभागी लारेन बायरका अनुसार अमेरिकी बालबालिका यतिबेला विकराल खाद्य संकट भोगिरहेका छन्। १८ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि विगत दुई वर्षमा खाद्य संकट १३० प्रतिशतले बढेको छ।
२००८ मा भएको आर्थिक संकटको तुलनामा अहिलेको अभाव ज्यादै धेरै हो। सञ्चारमाध्यमहरुले यसलाई भयानक अवस्था भनेका छन्।
उनका अनुसार परिवारले भोजन वितरण केन्द्रमा गएर खाना ल्याउँदैनन्। घरका साना बालबालिकाबीच थोरै खानामा तँछाडमछाड हुन्छ। कोरोना भाइरसका कारण ३ करोडभन्दा बढी नागरिक बेरोजगार भइसकेका छन्।
अमेरिकामा कोरोना भाइरसका कारण ७५ हजारभन्दा बढीको ज्यान गएको छ भने १२ लाख व्यक्ति संक्रमित छन्। -एएफपी