बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • देउवाको गृहजिल्लामा वडा अधिवेशनका नाममा 'अत्याचार', ठेकेदारलाई सभापति बनाउन शक्तिको दुरुपयोग

देउवाको गृहजिल्लामा वडा अधिवेशनका नाममा 'अत्याचार', ठेकेदारलाई सभापति बनाउन शक्तिको दुरुपयोग

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा वडा अधिवेशनका नाममा शुक्रबार जिल्लाका ५२ वटै वडामा भएको नौटंकीले सबैलाई आश्चर्यचकित तुल्याएको कांग्रेस कार्यकर्ताहरुको गुनासो छ।
 |  शनिबार, भदौ २६, २०७८

राम धामी

राम धामी

शनिबार, भदौ २६, २०७८

डडेल्धुरा– नेपाली कांग्रेस डडेल्धुराले विधिवत् रुपमा वडादेखि जिल्ला कार्यसमितिबाट पारित गरेर पठाइएका क्रियाशील सदस्यमा थपघट गरेर आफूले अघि सारेका उम्मेदवार भिमबहादुर साउँदलाई जिल्ला नेतृत्वमा ल्याउन अन्तिम प्रयास गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवादकै बीच एकपक्षीय रुपमा वडा अधिवेशन गर्न लगाएर जिल्लाका कार्यकर्ताहरुमाथि थप अन्याय र अत्याचार गरेको आरोप लागेको छ।

National life

देउवाको गृहजिल्ला डडेल्धुरामा वडा अधिवेशनका नाममा शुक्रबार जिल्लाका ५२ वटै वडामा भएको नौटंकीले सबैलाई आश्चर्यचकित तुल्याएको कांग्रेस कार्यकर्ताहरुको गुनासो छ। पार्टीको आधिकारिक संरचनालाई बेवास्ता गर्दै जिल्ला कार्यसमिति र मातहतका इकाइ कार्यसमितिहरुले सदस्यता विवादको टुंगो नलागेसम्मका लागि वडा अधिवेशन स्थगित गर्दा पनि व्यापक सुरक्षाकर्मी परिचालन गरेर एकपक्षीय रुपमा अधिवेशनको नाटक गरिएको जिल्ला सभापति कर्ण मल्ल समूहको आरोप छ। 

जिलाका ५२ वटै वडामा शुक्रबार वडा अधिवेशनको प्रक्रिया अगाडि बढेको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए। जिल्ला कार्यसमितिको बहुमतका साथै जिल्लाका ५२ मध्ये ४२ वडा कार्यसमितिले अधिवेशन स्थगित गर्ने निर्णय गरेको अवस्थामा डडेल्धुरा जिल्ला कार्यसमितिविरुद्ध गुटबन्दीमा सक्रिय केही जिल्लास्तरीय नेताहरुले आफू निकट कार्यकर्ताहरुलाई भेला गरेर अधिवेशनको नाटक मञ्चन गरिएको नेपाली कांग्रेस अजयमेरु गाउँ कार्यसमितिका सभापति कर्णबहादुर मल्लले बताए।

निर्वाचन केन्द्रमा बाक्लो मात्रामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर वडा अधिवेशन गरिरहेको जिल्लास्तरीय नेताहरु बताउँछन्। केन्द्रीय सभापति देउवाले हालसम्म जिल्लामा नेतृत्व स्थापित हुन नदिएको इतिहास रहेको र यसपटक पनि जिल्लास्तरमा बलियो नेताका रुपमा स्थापित सभापति मल्ललाई सिध्याएर आफूलाई चुनावमा लगानी गर्ने र विभिन्न ठेक्काहरु लिएर काम अलपत्र पार्ने ठेकेदार भीम साउँदलाई जिल्ला नेतृत्वमा ल्याउन वडा अधिवेशनको नाटक गरिएको नेपाली कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्टले बताए। 

सभापति देउवाकै निर्देशन र संरक्षणमा हाल डडेल्धुरा कांग्रेसमा दुई गुट सक्रिय छन्। जिल्ला सभापति कर्णबहादुर मल्ल र केन्द्रीय सभापति देउवाको संरक्षणमा रहेको गुट हाल अस्तित्वमा रहेको कांग्रेस कार्यकर्ताहरु बताउँछन्। सभापति देउवाको संरक्षणमा रहेको गुटमा पूर्वजिल्ला सभापति रघुवर भट्ट, प्रदेश सभाका समानुपातिक सांसद गोविन्दराज बोहरा, पर्शुराम नगरपालिकाका मेयरसमेत रहेका ठेकेदार भीमबहादुर साउँदलगायतका जिल्ला स्तरीय नेताहरू छन्।

Shivam cement

जिल्ला कार्यसमितिले नवीकरण र नयाँ क्रियाशील सदस्यताका लागि पाँच हजार आठ सय चार जनाको नामावली पठाएकोमा सभापति देउवाको निर्देशनमा छानबिन समितिले चार सय ४४ जनाको नाम हटाइदिएको र कुनै पनि प्रक्रियामा नआएका तीन सय १२ जना थपिएको हुँदा विवादको अवस्था बनेको नेपाली कांग्रेस डडेल्धुराका पूर्व सचिव लोकराज भट्टले बताए । 

सभापति देउवाकै निर्देशन र संरक्षणमा हाल डडेल्धुरा कांग्रेसमा दुई गुट सक्रिय छन्। जिल्ला सभापति कर्णबहादुर मल्ल र केन्द्रीय सभापति देउवाको संरक्षणमा रहेको गुट हाल अस्तित्वमा रहेको कांग्रेस कार्यकर्ताहरु बताउँछन्। सभापति देउवाको संरक्षणमा रहेको गुटमा पूर्वजिल्ला सभापति रघुवर भट्ट, प्रदेश सभाका समानुपातिक सांसद गोविन्दराज बोहरा, पर्शुराम नगरपालिकाका मेयरसमेत रहेका ठेकेदार भीमबहादुर साउँदलगायतका जिल्ला स्तरीय नेताहरू छन्।

सभापति देउवाले क्रियाशील सदस्यता विवादको टुंगो लगाएर मात्रै वडा अधिवेशन गर्ने केन्द्रीय नेताहरुलाई आश्वस्त पारे पनि शुक्रबार एकाएक वडा अधिवेशनका नाममा हाल पार्टीको जिम्मेवारीमा रहेका र पार्टीमा योगदान पुर्याएका नेता कार्यकर्ताहरुलाई पाखा लगाएर अत्याचार गरिएको परशुराम नगरपालिका वडा नम्बर १२ का सभापति राजबहादुर भण्डारीले बताए। उनले पार्टीमा लामो समयदेखि योगदान पुर्याएका कार्यकर्ताहरुको अवमूल्यन भएको र चाप्लुसी गर्ने र चुनावमा पैसा बाँड्‍ने व्यक्तिहरु हावी हुन थालेको जिकिर गरे। यसले संगठनलाई बनाउने भन्दा पनि राजनीतिक व्यापारले स्थापन पाउने र विचारको राजनीति सिध्याउने उनले बताएका छन्। 

सभापति देउवाले वडा अधिवेशनका नाममा गरेको मनोमानीको प्रभाव आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा पर्ने अनुमान गरिएको छ। यसअघि  पार्टीभित्रकै विवादका कारण आफ्नो पकड भएको क्षेत्रमा पनि कांग्रेसले चुनाव हारेको थियो। गृहजिल्लामा एकल पकड बनाउँदै आएका सभापति देउवाले आफूभन्दा फरक मत राख्ने र जिल्लामा स्थापित हुन खोज्ने नेताहरुलाई पाखा लगाएको क्रुर इतिहास भएको नेपाली कांग्रेस डडेल्धुराका पाका कार्यकर्ताहरु बताउँछन्।

२०१४ सालमा नेपाली कांग्रेस डडेल्धुराका संस्थापक सभापति एनडीप्रकाश चटौतको हवाई दुर्घटनामा निधन भएपछि हालसम्म नेपाली कांग्रेस डडेल्धुराको नेतृत्व गरिरहेका सबै जिल्ला सभापतिहरु हाल देउवासँग छैनन्। स्वतन्त्रता सेनानी सत्यराज पनेरु, देउवासँगै कांग्रेसको राजनीतिमा होमिएका पाका नेता पीएच भट्ट, डिएल भण्डारी, लामो समय नेपाली कांग्रेस डडेल्धुराको सभापति रहेका नेताहरु हिरादत्त भट्ट, रामचन्द्र चटौत, शेरबहादुर ढाँट सभापति देउवाको कोपभाजनमा पर्ने नेताहरु हुन्।

२०४७ सालदेखि निरन्तर १६ वर्ष नेपाली कांग्रेस डडेल्धुराको नेतृत्व गरेका पूर्वसभापति हिरादत्त भट्टले देउवाको साथ छाडेर हाल पौडेल पक्षको राजनीतिमा सक्रियता देखाएका छन् भने चटौत र ढाँटले कांग्रेस पार्टी नै परित्याग गरेका छन्। ‘अधिकांश जिल्लास्तरीय नेताहरु लोकप्रियता हासिल गरेकै कारण सभापति देउवाको निशाना परेका छन्,’ पाका कांग्रेस नेता दीर्घराज जोशीले भने,‘जिल्ला राजनीतिमा सम्भावना बोकेका र लोकप्रियता हासिल गर्न खोज्ने कांग्रेस नेताहरुलाई देउवाले पाखा लगाउने गरेका छन् ।’

क्रियाशील सदस्यता वितरणमा भएको धाँधली र वडा अधिवेशनका नाममा पार्टी संरचनालाई बाइपास गरेर गुटगत भेला सम्पन्न गरिएको विषयमा नेपाली कांग्रेस डडेल्धुराले सर्वोच्च अदालतमा न्यायका लागि रिट दर्ता गर्ने तयारी गरिरहेको नेपाली कांग्रेस डडेल्धुराको सभापति पदका आकंक्षी हरिप्रसाद भट्टले बताए। उनले सभापति देउवाबाटै अन्याय सहनु हुन्न भनेर प्रशिक्षण लिएका कार्यकर्ता भएकाले पार्टीमा भएको अन्याय सहेर नबस्ने जिकिर गरे। 

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले पार्टीको वडा अधिवेशनका लागि एक सय ९५ जना जनपद र सोही संख्यामा सशस्त्र प्रहरी बाहिरी जिल्लाबाट मगाएर परिचालन गरिएको बताए। सुरक्षाकर्मीको आडमा पार्टीको विधान मिचेर वडा अधिवेशन गरिएको देखाइए पनि स्वयम् प्रधानमन्त्री देउवाको वडा गन्यापधुरा गाउँपालिका–१ मा शनिबारसम्म वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिमा बस्ने क्रियाशील सदस्य नभेटाइएको स्थानीय नेता कार्यकर्ताहरु बताउँछन्। जिल्लाका अधिकांश वडामा कोरम पुग्ने संख्यामा पनि क्रियाशील सदस्यहरु उपस्थित नभएपछि घरघरमा पुगेर हस्ताक्षर गरिन थालिएको छ। 

प्रकाशित: Sep 11, 2021| 20:55 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।