धनगढी– लकडाउनका कारण भारतको पिथौरागढ क्षेत्रमा अलपत्र झन्डै २६ सय नेपालीको उद्धार गरिएको छ।
बैतडीको झुलाघाट नाकाबाट एक हजार दुई सय ९९ र दार्चुलाको धार्चुला नाकाबाट एक हजार दुई सय ९६ नेपालीकोे उद्धार गरिएको त्यहाँस्थित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्।
जिल्ला प्रशासन कार्यालय, बैतडीका सूचना अधिकारी लोकेन्द्र सिंह ऐरीले झुलाघाट नाकाबाट उद्धार गरिएकालाई जिल्लाका विभिन्न क्वारेन्टाइनमा राख्ने तयारी गरिएको जानकारी दिए।
“उद्धार गरिएकाको चेकजाँच गर्दा ज्वरो नदेखिएपछि उनीहरूलाई जिल्लाका विभिन्न क्वारेन्टाइनमा राख्ने तयारी गरेका छौं,” उनले भने।
उनका अनुसार झुलाघाट नाकाबाट बैतडीसहित दार्चुला, बझाङ, डडेलधुरा, कैलाली, दैलेख र जाजरकोटका सर्वसाधारणको उद्धार गरिएको छ।
“तीमध्ये नजिकको जिल्ला दार्चुला र डडेलधुराका स्थानीयलाई भने प्रशासनसँग समन्वय गरी घर पठाइएको छ,” उनले भने।
यसअघि पिथौरागढका क्वारेन्टाइन क्षेत्रमा रहेका एक हजार पाँच सय नेपालीको उद्धार गरिने बताइएको थियो। तीमध्ये झुलाघाट नाकाबाट नौ सयको उद्धार गरिने अनुमान गरिएकोमा त्यहाँ आफन्तको घरमा बसेकाहरू घर फर्किएकाले संख्या बढेको ऐरीको भनाइ छ।
भारतको पिथौरागढ क्वारेन्टाइनका १५ सय नेपालीको उद्धार जारी
कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमण फैलिएपछि घर फर्किएका नेपालीलाई २५ दिनअघि पिथौरागढका क्वारेन्टाइनमा राखिएको थियो।
बैतडी र दार्चुला तथा भारतको पिथौरागढका प्रमुख जिल्ला अधिकारीबीच क्वारेन्टाइनमा रहेका नेपालीलाई गत बुधबार स्वदेश फर्काउने सहमति भएको थियो।