काठमाडौं- अध्यादेश प्रकरणपछि पार्टीभित्रै निकै आलोचित बनेका प्रधानमन्त्री केपी शर्मा ओली अब संसदीय दलमा जसरी पनि आफ्नो पक्षमा बहुमत सदस्य पुर्याउने रणनीतिमा जुटेका छन्।
सोही रणनीतिअनुसार उनले बुधबार सचिवालय बैठकअघि बालुवाटारमा आफू निकटका सांसदसँग एकल र सामूहिक रुपमा छलफल गरे। प्रधानमन्त्री ओलीले आफू सत्तामा आएपछि भएका कामहरुको विवरण प्रस्तुत गर्दै सांसदहरुलाई आफ्ना पक्षमा निर्भीक भएर उभिन आग्रह गरेको एक सांसदले बताए।
दुई अध्यादेश जारी र फिर्तापछि ओलीमाथि सरकार र पार्टी दुवैको नेतृत्व गर्न सक्ने क्षमता नरहेको भन्दै पछि हट्न सचिवालय सदस्यहरुबाटै दबाब दिइँदै आएपछि ओली संसदीय दलमा आफू बलियो रुपमा रहेको देखाउने प्रयासमा छन्।
स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा ओली अल्पमतमा छन्। आफू निकटका सांसदहरुसँग छलफल गरेपछि बाहिर नजान भन्दै प्रधानमन्त्री ओली नेकपा सचिवालय बैठकमा प्रवेश गरेका छन्। नेताहरुको ठूलो दबाबपछि बुधबार बालुवाटारमा सचिवालय बैठक बसेको हो।
ओलीले सचिवालय बैठक नसकिएसम्म बालुवाटारबाट बाहिर नजान सांसदहरुलाई निर्देशन दिएका छन्। सोही कारण कुनै सांसद पनि बाहिर निस्किएका छैनन् भने उनीहरु पत्रकारको सम्पर्कमा पनि आउन चाहेका छैनन्। पत्रकारलाई प्रधानमन्त्री निवासको मुख्य गेटबाट छिर्न दिइएको छैन, उनीहरु सडकमै छन्।