काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि थालेको गृहकार्यप्रति आपत्ति जनाएका छन्।
उनले आफ्नो ट्विटर ह्यान्डलमा ट्विट गर्दै संविधान संशोधनको गृहकार्यप्रति आपत्ति जनाएका हुन्।
उनले ट्विटमा संविधान संशोधनलाई ‘ढाँट–छल’को संज्ञा दिएका छन्।
“अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरा गर्दै आएकाहरूबाट एकाएक संविधान संशोधनको कुरा सुनिँदैछ। केका लागि संशोधन ! खराखरी बहस गर्ने बेला आएजस्तो छ,” उनले ट्विटमा लेखेका छन्, “कुरा लुकाएर, ढाँट–छल गरेर कति दिन चल्छ, कसरी चल्छ ? राजनीति गरिन्छ, जुवा खेलिन्न।”
नेकपाले हालै संविधान संशोधनका लागि वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ। तर, यसको नेकपाभित्रै विरोध भइरहेको छ। कार्यदल सदस्यहरूले नै संविधानको औचित्यमाथि प्रश्न उठाउँदै त्यसमा बस्न इन्कार गरेका छन् ।
नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेर प्रधानमन्त्री बनाउने योजनाअनुरूप संविधान संशोधनको विषय उठेको अधिकांशको बुझाइ छ।
संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यमात्र प्रधानमन्त्रीको उम्मेदवार हुन पाउँछ।