काठमाडौं- नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीको सीमा पाँच गुणासम्म बढाएको छ।
विदेशी विनिमय सञ्चिति बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि विदेशी मुद्रा सटहीमा सहजीकरण गरिएको हो।
राष्ट्र बैंकले विदेशी विनिमय कारोबारसम्बन्धी एकीकृत परिपत्र संशोधन गर्दै विदेशमा उपचारका लागि वार्षिक ३० हजार अमेरिकी डलरसम्म सटही सुविधा दिने व्यवस्था गरेको छ।
यसअघि यस्तो सीमा १५ हजार डलर थियो। नेपाली वायुसेवा कम्पनीले जहाजका इन्जिन तथा पार्टपुर्जा आयात गर्दा पाँच लाख अमेरिकी डलरसम्म अग्रिम भुक्तानी गर्न सक्ने भएका छन्। यसअघि यस्तो सीमा एक लाख डलर थियो। त्यस्तै दूरसञ्चार सेवा प्रदायकले विदेशी कम्पनीबाट लिने उपग्रह सेवाको भाडाबापत वार्षिक पाँच लाख अमेरिकी डलरसम्म भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ। यसअघि सीमा एक लाख डलर थियो।
भारतबाट विभिन्न सेवा लिने नेपाली तथा विदेशी संघसंस्था र कम्पनीले प्रतिपटक ६० लाख भारतीय रुपैयाँसम्म भुक्तानी गर्न सक्ने भएका छन्। यसअघि यस्तो सीमा ४० लाख भारतीय रुपैयाँ थियो। राष्ट्र बैंकले चीनबाट हुने आयातको भुक्तानीमा पनि सहजीकरण गरेको छ।
तातोपानी, रसुवागढी र मुस्ताङ नाकाबाट हुने आयातको भुक्तानी अब भन्सार जाँचपास हुनुअघि नै पूर्ण रूपमा पठाउन सकिने व्यवस्था गरिएको छ। यसअघि सामान पठाउनुअघि नै भुक्तानी गर्नुपर्ने व्यवस्था थियो।