बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

अभिनेता इरफान खानको नेपाल साइनो

भारतीय अभिनेता इरफान खानको निधनपछि उनका हजारौं नेपाली प्रशंसकहरुले सामाजिक सञ्जालमा शोक व्यक्त गरिरहेका छन्।
 |  बुधबार, वैशाख १७, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

काठमाडौं– भारतीय अभिनेता इरफान खानको निधनपछि उनका नेपाली प्रशंसकहरुले सामाजिक सञ्जालमा शोक व्यक्त गरिरहेका छन्।

triton college

भारत, राजस्थान प्रान्तको जयपुरमा जन्मेका इरफानको बुधबार मुम्बईमा निधन भएको हो।

भारतीयसाथै कैयन अन्तर्राष्ट्रिय फिल्ममा समेत काम गरेका अब्बल अभिनेता इरफान फिल्मको छायांकन र अन्य कार्यक्रममा सहभागी हुन नेपाल पनि आएका थिए ।

सन् २०१५ रिलिज भएको फिल्म याराको छायांकनका लागि उनी अभिनेत्री श्रुती हसन लगायतका कलाकारसँगै नेपाल आएका थिए।

त्यसबेला होटल र्‍याडिसनमा बसेको फिल्म युनिटले पाटन दरबार क्षेत्र र नगरकोटमा फिल्मको छायांकन गरेको थियो।

Metro Mart
vianet

२०७४ सालमा ‘माफीया क्विन अफ मुम्बई’ फिल्मको छायांकनका लागि पनि इरफान र दीपिका पादुकोण नेपाल आउने चर्चा थियो। विशाल भारद्वाजले निर्देशन गर्ने भनिएको उक्त फिल्म बन्न पाएन।

मुम्बईमा कोठी चलाउने एक नेपाली महिलाको कथामा आधारित उक्त फिल्मको छायांकन सुरु गर्ने बेलातिर उनको स्वास्थ्यमा समस्या आयो।

इरफान खानले पहिलो पटक प्याराग्लाइडिङ नेपालमा गरेका थिए।

सन् २०११ मा भएको काठमाडौं अन्तर्राष्ट्रिय थिएटर फेस्टिभलमा सहभागी हुन परिवारसहित काठमाडौं आएका बेला उनी पोखरासम्म पुगेका थिए । त्यसैबेला उनले पोखरामा प्याराग्लाइडिङ गरेका हुन्।

उनले पहिलोपटक नेपालमा प्याराग्लाइडिङको अनुभव लिएको भन्दै नेपाली संस्कृतिको प्रशंसा पनि गरेका थिए।

५३ वर्षीय खानको बुधबार मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा निधन भएको हो । २८ अप्रिलमा अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार भइरहेको थिएन।

दुई वर्षअघि क्यान्सरले ग्रस्त भएपछि उपचारका लागि उनी लन्दन गइराख्थे। यसैबीच उनले फिल्म अंग्रेजी मिडियममा अभिनय गरे पनि विग्रंदो स्वास्थ्यका कारण फिल्मको प्रमोशन सहभागी हुन सकेका थिएनन।

उनको निधनमा भारतीय प्रधानमन्त्रीदेखि अन्य राजनीतिक हस्ती र फिल्मी कलाकारका साथै लाखौं प्रशसंकहरुले शोक व्यक्त गरेका छन्।

नेपाली रङ्गकर्मी सुनील पोखरेलले पनि फेसबुकमा खानलाई आफूले सधैँ सम्झिरहने लेखेका छन्। भारतमा अभिनयको प्रशिक्षण लिँदा उनीहरूबीच मित्रता गाँसिएको थियो।

त्यस्तै, नाट्यकर्मी अनुप बरालले पनि इरफानको निधनमा आफू दुःखी भएको बताएका छन् । फेसबुकमा उनले लेखेका छन्, ‘ एउटा थेसपियन एक्टरको महाप्रस्थान। तिमी मेरा लागि एक सिनियर मात्र होईनौ (नेशनल स्कुल अफ ड्रामामा) मैले विश्वास गर्ने अभिनय पद्धतिको 'पायोनियर' पनि हौ। अलविदा माई डियर एक्टर।’

अभिनेता सुनिल थापाले इरफानको निधनको खबरले दुःखी भएको बताएका छन् । उनले लेखेका छन्, ‘मेरो मनपर्ने नायक इरफान खानको निधन भएको भन्ने खबर सुन्दा निकै दुःखी छु । हजुरको आत्माले शान्ति पाओस् । परिवारले धैर्यधारण गर्ने शक्ति प्राप्त गरुन् ।’

अभिनेत्री गौरी मल्लले पनि उनको मृत्युमा शोक व्यक्त गरेकी छिन् ।

इराफानले ब्रिटिश र हलिउड फिल्ममा पनि काम गरेका थिए। फिल्ममा उनको योगदानको कदर गर्दै भारत सरकारले उनलाई चौथाो सर्वश्रेष्ठ नागरिक सम्मान पद्मश्री दिएको थियो।

इरफानले बिल्लू (२००९), पान सिंह तोमर (२०११) ये साली जिन्दगी (२०११), सात खून माफ (२०१२), लञ्च बक्स (२०१३), हैदर (२०१४), पीकू (२०१५), तलवार (२०१५), हिन्दी मिडियम (२०१७) र करीब करीब सिंगल (२०१८) लगायतका उत्कृष्ट फिल्महरुमा अभिनय गरेका थिए।

पान सिंह तोमरका लागि उनले सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए। यसबाहेक हासिल (२००३) र मकबूल (२०१४) मा उनी नकारात्मक भूमिकाका लागि निकै प्रशंसित भएका थिए।

इरफानले अन्तर्राष्ट्रिय फिल्महरु– द वारियर (२००१), द नेमसेक (२००६), द दार्जिलिङ लिमिटेड (२००७), अ माइटी हर्ट (२००७), अस्कर पुरस्कार प्राप्त स्लमडग मिलेनियर (२००८), न्यूयोर्कः आइ लभ यू (२००९), द अमेजिङ स्पाइडर म्यान (२०१२), लाइफ अफ पाई (२०१२), जुरासिक वर्ल्ड (२०१५) र इन्फर्नो (२०१६) मा पनि अभिनय गरेका थिए।

यसअघि उनले दुरदर्शनबाट प्रसारित धारावाहिक–चाणक्य, भारत एक खोज, सारा जहाँ हमारा, बनेगी अपनी बात, चन्दकान्ता, श्रीकान्त, अनुगूञ्ज आदिमा काम गरेका थिए ।

९० को दशकमा उनी एक डाक्टर की मौतसच अ लंग जर्नी जस्ता प्रशंसित फिल्ममा पनि जोडिएका थिए।

इरफानको परिवारमा उनकी श्रीमती सुतापा सिकदर र दुई छोरा बाबिल र अयान छन्।

प्रकाशित: Apr 29, 2020| 16:15 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्