काठमाडौं- जरो नाम्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालसँग बुधबार काठमाडौं जिल्ला अदालतमा बयान लिन सुरु भएको छ।
जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा अग्रवालसँग बयान लिन सुरु भएको स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।
बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ।
सरकारी वकिल कार्यालयले अग्रवालविरुद्ध मंगलबार जिल्ला अदालतमा कालोबजारी र सामाजिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको थियो।
महानगरीय प्रहरी परिसरले अग्रवालविरुद्ध कालोबजारी, अवैध भण्डारण तथा नाफाखोरी, कृत्रिम अभाव सिर्जना तथा सार्वजनिक पदको दुरुपयोग गरी चारवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो।
प्रहरीले अग्रवाललाई चारवटै कसुरमा १० वर्ष कैद र १५ लाख ७८ हजार रुपैयाँ जरिवाना मागदाबी गरेको छ।
चीनमा करिब तीन हजार रुपैयाँ पर्ने थर्मल गन १५ देखि २० हजार रुपैयाँमा बिक्री गरेको भन्दै प्रहरी आफैं ग्राहक बनेर उनलाई चैत २५ गते पक्राउ गरेको थियो।