काठमाडौं- ज्वरो नाप्ने थर्मलगन कालोबजारीको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका शंकर समूहका व्यवसायी सुलभ अग्रवालविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।
अग्रवालविरुद्ध प्रहरीले तयार पारेको प्रतिवदेनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले मंगलबार मुद्दा दायर गरेको हो ।
२५ चैतमा पक्राउ परेका उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार डेढ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवानाको माग गरी मुद्दा दायर गरिएको छ।
ऐनको दफा २(क), ३(१) तथा ५ अनुसार सजायको माग दाबी गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता हरि रेग्मीले जानकारी दिए। तीनैवटा दफाअनुसार बढीमा एक वर्ष कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान भए पनि सार्वजनिक पद धारण गरेका व्यक्तिले अपराध गरेमा ५० प्रतिशत थप सजाय हुने व्यवस्थाअनुसार थप ६ महिना सजाय माग गरिएको हो।
अग्रवालविरुद्ध १५ लाख ७८ हजार ९१३ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । उनले १४५ वटा ज्वरो नाप्ने थर्मलगन कालोबजारी गरेको प्रहरीको आरोप छ ।
ग्राहक बनेर गएको प्रहरीलाई उनले ६७ वटा थर्मलगन १० लाख रुपैयाँमा बिक्रीको प्रयास गरेका थिए। उक्त थर्मलगनको बजार भाउ करिब पाँच हजार भए पनि उनले १५ हजार रुपैयाँमा बिक्री गरेको उनीमाथि अभियोग लागेको छ।
राजस्वले पनि छानबिन गर्ने
नेपाल उद्योग परिसंघका उपाध्यक्षसमेत रहेका अग्रवालमाथि राजस्व अनुसन्धान विभागले समेत थप छानबिन गर्ने भएको छ।
उनले पेस गरेको बिलको सम्बन्धमा छानबिनका लागि राजस्वलाई पत्राचार गरिएको सहन्यायाधिवक्ता रेग्मीले जानकारी दिए। अग्रवालको मुद्दामा बुधबार थुनछेक बहस हुनेछ ।
जगदम्बा स्टिललगायतका उद्योग व्यवसायका मालिक अग्रवाल गत २५ चैतमा काठमाडौंको नक्सालबाट पक्राउ परेका थिए।
बजारमा अभाव रहेको ज्वरो नाप्ने थर्मल गन (इन्फ्रारेड थर्मोमिटर) को कालो बजारी भइरहेको जानकारी पाएको प्रहरीको अपराध महाशाखाले उनलाई ग्राहक बनेर रंगेहात पक्राउ गरेको थियो।
अग्रवालको किर्गिस्तानका लागि अवैतनिक दूतको पद यही कालोबजारी काण्डमा परेपछि सरकारले रद्द गरिदिएको छ।