बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्पेनिस फ्लू : १ करोड ८० लाखले ज्यान गुमाएको भारतमा दाहसंस्कार गर्न दाउरा अभाव थियो

स्पेनिस फ्लू : १ करोड ८० लाखले ज्यान गुमाएको भारतमा दाहसंस्कार गर्न दाउरा अभाव थियो

रेलमा सकुशल चढेको मानिस गन्तव्यमा पुग्दा या त मरिसकेको हुन्थ्यो या सिकिस्त हुन्थ्यो।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

रेलमा सकुशल चढेको मानिस गन्तव्यमा पुग्दा या त मरिसकेको हुन्थ्यो या सिकिस्त हुन्थ्यो।

भारतका प्रख्यात कवि सूर्यकान्त त्रिपाठी निराला सन् १९१८ मा २२ वर्षका थिए। उनले आफ्नो आत्मकथा ‘कुल्ली भाट’मा लेखेका छन्, ‘म गंगा किनारमा उभिएको थिएँ।

आँखाले भ्याउन्जेलसम्म गंगाको पानीमा मानिसका शव थिए। त्यति नै बेला मेरी पत्नी मनोहरा देवीको पनि मृत्यु भएको खबर आयो ससुरालबाट। मेरो भाइको १५ वर्षको जेठो छोरा र मेरी एक वर्षकी छोरीको पनि मृत्यु भएको थियो। मेरो परिवारका अरु सदस्यको पनि मृत्यु भइरहेको थियो।

शवको अन्तिम संस्कारका लागि दाउराको कमी भइरहेको थियो। एक निमेषमै मेरो परिवार मेरै सामुन्ने सखाप भएको थियो। चारैतिर अँध्यारै–अँध्यारो छाएको थियो। अखबार पढेपछि पो थाहा भयो, सबै एउटा ठूलो महामारीको शिकार भएका रहेछन्।’

महात्मा गान्धी र प्रेमचन्द पनि पीडित

निरालाको परिवारमात्र होइन, भारतीय स्वतन्त्रता संग्रामका नायक महात्मा गान्धी पनि प्राणघाती स्पेनिस फ्लूको शिकार भएका थिए।

गान्धीकी बुहारी गुलाब तथा नाति शान्तिको मृत्यु पनि यही बिमारीबाट भएको थियो। गान्धी पनि यो बिमारीबाट ठिक नभएको भए भारतीय स्वतन्त्रता संग्रामको इतिहास अर्कै ढंगबाट लेखिने थियो सायद। प्रख्यात उपन्यासकार प्रेमचन्द पनि यो फ्लूबाट संक्रमित थिए।

स्पेनिस फ्लूले भारतमा मात्र १ करोड ८० लाखको ज्यान लिएको थियो।

इतिहासको पानामा यो महामारीको यति चर्चा हुने थिएन होला, यदि बेलायती सरकाको विरुद्ध मानिसको रोष चरमोत्कर्षमा नपुगेको भए।

यो भाइरसको सुरुवात १९१८ मे २९ मा भएको थियो, जुनबेला पहिलो विश्वयुद्धको मोर्चाबाट फर्किएका भारतीय सैनिक चढेको जहाज बम्बई बन्दरगाहमा आइपुगेको थियो।

मेडिकल इतिहासकार तथा ‘राइडिङ द टाइगर’ का लेखक अमित कपूर लेख्छन्, ‘१० जुन १९१८ मा बन्दरगाहमा तैनाथ ७ प्रहरी जवानलाई रुघा लागेपछि अस्पताल भर्ना गरिएको थियो। यो नै भारतमा स्पेनिस फ्लूको पहिलो संक्रमण थियो। त्यतिबेलासम्म यो बिमारी पूरै दुनियाँमा फैलिसकेको थियो।’

स्पेनिस फ्लूबाट विश्वभर १० देखि २० करोड मानिसको मृत्यु भएको अनुमान गरिन्छ। जोन बेरी आफ्नो पुस्तक ‘द ग्रेट इनफ्लुएन्जा– द एपिक स्टोरी अफ द डेडलिएस्ट पेन्डामिक इन हिस्ट्री’ मा लेख्छन्, ‘साढे १० करोड जनसंख्या भएको अमेरिकामा ६ लाख ७५ हजारको मृत्यु भएको थियो।

त्यसअघि कुनै पनि महामारीबाट त्यति मानिस मरेका थिएनन्। १३ औं शताब्दीमा फैलिएको प्लेगबाट युरोपको २५ प्रतिशत जनसंख्या घटेको थियो।’

दर्दनाक मृत्यु

जोन बेरी अगाडि लेख्छन्, ‘स्पेनिस फ्लूबाट २४ हप्तामा जति मानिस मरेका थिए, त्यति मानिस एड्सबाट २४ वर्षमा पनि मरेनन्। यो भाइरसको सबैभन्दा बढी असर फोक्सोमा पर्थ्यो।

बिरामीलाई असह्य रुपमा खोकी लाग्ने र नाक, कान र मुखबाट समेत रगत बग्ने हुन्थ्यो। पूरै शरीर यति दुख्थ्यो मानौं, सारा हड्डी टुटेको छ। बिरामीको छाला सुरुमा निलो, त्यसपछि बैजनी र अन्तिममा कालो हुन्थ्यो।

अमेरिकाको फिलाडेल्फियामा पादरी घोडामा सवार भएर मानिसको घरघर जान्थे र घरभित्र राखेका शव आफूलाई दिन भन्थे। जसरी अहिले कवाडवालाले घरघरबाट कवाडी उठाउँछन्।

सुरुमा त थुप्रै देशले यो महामारीलाई लुकाएर राखे ताकि युद्ध मैदानमा खटेका सैनिकको मनोबल नगिरोस्। सबैभन्दा पहिले स्पेनले यो भाइरसको अस्तित्वलाई स्वीकारेको थियो। यसैकारण यो महामारीलाई स्पेनिस फ्लू नाम दिइएको हो।’

रेलबाट फैलियो भारतमा

सुरुमा भारतको बम्बईमा फैलियो स्पेनिस फ्लू । र, रेलले सबैतिर लिएर गयो। १९२० को अन्तिमसम्ममा यो महामारीबाट करिब १० करोडको मृत्यु भइसकेको थियो। यो संख्या पहिलो र दोस्रो दुवै विश्वयुद्धमा भएको मृत्युभन्दा बढी हो।

भारतमा सबैभन्दा बढी १ करोड ८० लाखको ज्यान गएको थियो। यो संख्या भारतको त्यतिबेलाको जनसंख्याको करिब ६ प्रतिशत हो।

जोन बेरीले भारतमा यस महामारीको फैलावटबारे लेखेका छन्, ‘रेलमा सकुशल चढेको मानिस गन्तव्यमा पुग्दा या त मरिसकेको हुन्थ्यो या सिकिस्त हुन्थ्यो। बम्बईमा एकैदिन ७६८ जनाको मृत्यु भएको थियो। दिल्लीको एक अस्पतालमा १३ हजार १९० बिरामी भर्ना भएका थिए जसमध्ये ७ हजार ४४ जनाको मृत्यु भयो।

बढी असर महिलामा

बेलायतमा यस महामारीको मृत्युदर ४.४ प्रतिहजार थियो भने भारतमा प्रतिहजार २०.६। भारतले त्यसबेला इतिहासकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको थियो, भोकमरीले ग्रस्त थियो। भोको शरीरका कारण रोग प्रतिरोधी क्षमता कम हुने नै भयो। त्यसकारण यो भाइरस भारतमा झन् बढी घातक हुन पुग्यो।

अर्को चाखलाग्दो तथ्य के छ भने पुरुषको तुलनामा महिला बढी प्रभावित थिए। कारण यो पनि हुनसक्छ कि भारतीय समाजमा महिलालाई पुरुषको तुलनामा खानेकुरा नै कम मिल्थ्यो। बिरामीको स्याहारमा खटिँदा पनि संक्रमण सर्ने नै भयो।

विकास दर शून्यभन्दा पनि तल

भारतको १२० वर्षको आर्थिक इतिहासमा १९१८ सबैभन्दा खराब वर्ष बन्यो। भारतको विकास दर माइनस १०.८ प्रतिशतमा झरेको थियो। मुद्रास्फीतिले पनि पछिल्ला सबै वर्षको रेकर्ड तोडिदिएको थियो।

यो महामारीले भारतीय अर्थव्यवस्थामा बंगालको खडेरी तथा विश्वयुद्धले भन्दा पनि बढी असर गरेको थियो। पहिलोपटक भारतीय जनगणनाको इतिहासमा १९११–१९२१ मा जनसंख्या घटेको थियो। स्पेनिस फ्लू महामारीकै परिणामको रुपमा लिइन्छ यसलाई। सन् १९२० मार्चसँगै यो महामारी नियन्त्रणमा आयो।

रेहान फजल (बीबीसी)

 

प्रकाशित: Apr 28, 2020| 21:25 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।