काठमाडौं- इपिएस प्रणालीअन्तर्गत दक्षिण कोरियामा काम गर्ने र घरबिदामा आएका बेला लकडाउनका कारण नेपालमै रोकिएका श्रमिकहरु कोरिया जान पाउने भएका छन्।
इपिएस प्रणालीअन्तर्गत कोरियामा काम गर्ने अनुमति प्रात वैध प्रवेशाज्ञा (भिसा) भएका र हाल बिदामा नेपालमा रहेका व्यक्तिहरु स्वेच्छाले काममा फर्किन पाउने भएका हुन्।
जान चाहेमा उनीहरुको स्वास्थ्य परीक्षण गराई उनीहरुकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिने निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
त्यस्ता व्यक्तिले वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखामा सम्पर्क राख्नुपर्ने मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जनाएका छन्।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नेपालमा रोकिएका व्यक्तिलाई जान अनुमति दिने निर्णय गरेको हो।
