जनकपुरधाम- रौतहटमा दुई जना कोरोना संक्रमित व्यक्ति भेटिएपछि स्थानीय प्रशासनले उनीहरुका गाउँ सिल गरेको छ।
स्थानीय प्रशासनले रौतहटको वृन्दावन नगरपालिका–१ भुसाहा गाउँ र देवाही गोनाही नगरपालिका–१ को नहरटोल सिल गरेर मानिसको आवतजावतमा पूर्ण रोक लगाएको छ। सिल गर्नुअघि संक्रमित दुवैजना बस्ने इलाकामा ‘मास स्क्रिनिङ’ गरिएकाे थियाे।
जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार वृन्दावन नगरपालिका–९ भुसाहाको दक्षिणमा भीम डाबर गाउँ, उत्तरमा आकरपाथर गाउँ पश्चिममा बहुअरी र बरगजवा गाउँ र पूर्वमा विर्ता गाउँको चार किल्लाभित्र रहेका गाउँहरु सिल गरिएको छ।
यसैगरी देवाही गोनाही नगरपालिका–१ नहरटोल पूर्वमा कन्जुल मस्जिद, पश्चिममा लाल बकैया नदीको नहर, दक्षिणमा नहर ९मन० र उत्तरमा खेसरहिया गाँउभित्रको इलाका सिल गरिएको छ।
सिल गरिएको इलाकाबाट कुनै पनि व्यक्ति बाहिर निस्कने र अन्यत्रबाट प्रवेश गरेमा कडा कारबाही गरिने जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।
रौतहटको वृन्दावन नगरपालिका–१ भुसहाका २५ वर्षीय पुरुष र देवाही गोनाही नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले उक्त क्षेत्र सिल गरेको हो।
यसअघि प्रादेशिक अस्पताल जनकपुरस्थित प्रयोगशालाको परीक्षणमा एकजनामा नेगेटिभ नतिजा देखिएको थियो। तर, राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा पोजिटिभ देखिएपछि उनलाई वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा लगिएको छ।
भुसहाका संक्रमित व्यक्ति १० दिनदेखि घरपरिवारमा बसेर घुमफिर गर्दै आएका थिए।
यसैगरी अर्का संक्रमित देवाही गोनाही बस्ने व्यक्ति पछिल्लो समय क्वारेन्टाइनमा रहे पनि त्यसअघि घरपरिवार एवं ससुराली बसेका थिए।
संक्रमण भेटिएका २५ वर्षीय पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेपछि घर गइसकेका थिए। उनको २७ चैतमा प्रादेशिक अस्पताल जनकपुरमा भएको स्वाब परीक्षणमा निगेटिभ नतिजा आएको थियो।
यसैगरी ३५ वर्षीय पुरुष नयाँदिल्लीबाट वैशाख ४ गते घर आएका थिए। उनको गत बिहीबार प्रादेशिक अस्पताल जनकपुरमा स्वाब परीक्षण भएको थियो।