काठमाडौं- १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका रौतहटका एक युवकमा कोरोना संक्रमण भेटिएपछि गाउँ नै सिल गर्ने तयारी प्रशासनले गरेको छ।
क्वारेन्टिन बसेर १० दिनअघि घर फर्किएका २४ वर्षीय युवकमा कोरोना संक्रमण भेटिएपछि उनको घर भएको वृन्दावन नगरपालिका–९ भुसहा टोल नै सिल गर्ने तयारी प्रशासनले गरेको हो।
अर्का संक्रमित देवाही गोनाही नगरपालिका–१ का ३५ वर्षीय पुरुष हाल क्वारेन्टिनमै रहेका छन्। दुबै जनालाई उपचारका लागि वीरगंज अस्पताल पठाउने तयारी भैरहेको छ।
जनकपुरबाट गएको प्रादेशिक टोलीले गरेको पीसीआर टेस्टमा कोरोना नेगेटभ देखिएपछि ति युवकलाई घर फर्काइएको थियो। काठमाडौंबाट गएको टोलीले युवकको नमुना परीक्षण टेकुमा पठाउँदा उनमा कोरोना संक्रमण भेटिएको बुझिाएको छ।
संक्रमण भेटिएका दुबै जना लकडाउनकै समयमा भारतको कोलकाताबाट नेपाल आएको बुझिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ। जसमध्ये १६ जना सफल उपचारपछि घर फर्किएका छन्।