भैरहवा– सीमा पारीबाट आउने तरकारीसँगै कोरोनाको संक्रमण फैलने डरले तरकारीको खपत कम भइरहेका बेला भैरहवा वरपरका स्थानीयले आफैं तरकारी खेती सुरु गरेका छन्।
सिद्धार्थनगरपालिका– ९ गोनहियामा अचेल मौसमी तरकारी प्रशस्तै उत्पादन भएको छ। बारीमै गएर लौका, घिरौला, फर्सी, तोरीको साग, हरियो खुर्सानी र धनियाँ छानीछानी सस्तोमा किन्न पाइन्छ।
भैरहवाको डाडागाउँबाट करिब एक घन्टा पैदल हिडेरै ताजा अर्गानिक तरकारी किन्न गोनहिया पुगेकी अनिता रायमाझी भन्छिन्, ‘बाटोमा बेच्न ल्याएका तरकारी किन्न डर लाग्छ। सीमापारीबाट आएको हो कि, कोरोनाको त्रास छ। त्यसैले अर्गानिक तरकारी किन्न बारीमै आइपुगें।’
लकडाउनपछि भारतबाट तरकारी आयातमा कामीसँगै उताबाट आएको तरकारी स्वस्थ्यकर भए नभएको प्रश्नसमेत उठ्न थालेपछि भैरहवाको उत्तरपूर्वी भेगमा उत्पादित तरकारीले राम्रो बजार पाएको छ।
रायमाझी झै यतिबेला बिहान झिसमिसेदेखि बेलुकासम्म गोनहियामा तरकारी किन्न आउने जाने प्रशस्तै हुन्छन्।
तरकारीको हेरालुको काम गर्दै आएका गोनहियाकै मनबहादुर क्षेत्रीले भने, ‘ए बाबु, यहाँ एकछिन फुर्सद छैन । बिहानै मर्निंग वार्क गर्दै आउछन् । सांझ पनि त्यस्तै आउछन् । दिउंसो अली कम हुन्छ।’
क्षेत्रीले काम गर्ने फर्ममा एक विगाह भन्दा बढी जग्गामा लौका मात्रै फलाइएको छ। तोरीको साग, घिरौला, हरियो खुर्सानी, फर्सी र धनिया पनि तयार भइसकेको छ।
साढे चार बिगाह क्षेत्रफलमा व्यवसायीक तरकारी खेती हुँदै आएको गोनहियाको तरकारी रुपन्देहीमा यतिबेला चर्चामा छ।
प्रदेश सरकार र स्थानीय सरकारसँगको समन्वयमा स्थानीय सहकारी संस्थाले कृषी एम्बुलेन्स मार्फत गोनहियाको तरकारी बेच्दै पनि आएको छ ।
नेपाल बहुमुखी सहकारी संस्था अन्तर्गतको कृषी परियोजना उपसमितिको व्यवस्थापनमा सन्चालित उक्त तरकारी फर्मलाइ अर्गानिक तरकारीको केन्द्र बनाउनेगरी तयारी थालिएको उपसमितिका सदस्य विष्णु आचर्य बताउँछन्।
उनी भन्छन्, ‘एक विगाहमा भिन्डी, घिरौला, करेला, बोडी, प्याज हुर्किरहेको छ, अब एक हप्तामै त्यो बेच्न लायक हुन्छ। फर्मको पूर्व पट्टि एक विगाहमा लौका, छेउमै फर्सी अनि अर्को एक विगाहमा कागतीका विरुवा हुर्किदै छन्।’
तरकारी किन्नेहरु खेतमै आउँदा झन हौसला मिलेको आचर्य बताउँछन्। ‘यहाँ तरकारी किन्न टाढा टाढाबाट मानिसहरु हिंड्दै आएका छन्। यसले एकातिर शारिरीक कसरत भएको छ भने अर्कोतिर विषादीरहित तरकारी किन्न पाउँदा हाम्रा ग्राहकको स्वास्थ्य झनै बलियो भएको छ,’ आचार्यले भने।
उक्त तरकारी परियोजनाकोलागि सिद्धार्थनगर नगरपालिकाले हाते टयाक्टर र दुईसय कागतीको विरुवा अनुदान दिएको छ। स्थानिय विन्द्यवासिनी मन्दिरको जग्गा १५ वर्षका लागि लिजमा लिई तरकारी खेती गरिएको हो।