अमेरिकी अर्बपति तथा माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले १ वर्षभित्रमा कोरोना भाइरसविरुद्धको खोप बनाउने बताएका छन्।
सीएनएनसँग कुराकानी गर्दै उनले कोरोनाविरुद्धको खोप बनाउन ठूलो लगानी भएको पनि जानकारी दिएका छन्।
हाल देखिएको महामारीको औषधि र खोप निर्माणमा ४० अर्ब अमेरिकी डलरभन्दा बढी रकम गेट्सले खर्च गरेको बताइएको छ। गेट्सले सीएनएनसँग भनेका छन्, 'सबै काम योजनाअनुसार भयो भने हामीले १२ महिनाभित्र कोरोनाविरुद्धको खोप तयार गर्नेछौं।’
आफूले अमेरिकी राष्ट्रपति कार्यालयका महामारीविज्ञ डा. एन्थोनी फाउचीसँग छलफल गरेको र कोरोनाको खोप बनाउन बढीमा १८ महिनासम्म लाग्ने कुराकानी भएको गेट्सले बताएका छन्।
गेट्स दम्पत्तिले कोरोनाको खतरासँग जुध्नका लागि विश्व स्वास्थ्य संगठनलाई २५ करोड अमेरिकी डलर सहयोग गरिसकेका छन्।
बिल गेट्सले आफ्नो र श्रीमतीको नाममा सन् २००० मा परोपकारी संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन स्थापना गरेका थिएर्।