सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको किचलो सल्ट्याउन आज (मंगलबार) सचिवालय बैठक बस्दैछ।
हिजो दिनभरको शीर्ष नेताबीचको छलफलमा सचिवालय र स्थायी कमिटीको बैठक बोलाउने सहमति भएअनुसार सचिवालय बैठक बस्न लागेको हो। सचिवालय बैठकले नै स्थायी कमिटीको बैठक बोलाउने निर्णय गर्ने बताइएको छ।
हिजो अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपाल, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतम, प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल तथा प्रचण्ड र माधव नेपालको संयोजकत्वमा बनेको कार्यदलबीच छुट्टाछुट्टै छलफल भएको थियो। त्यसैगरी प्रमको निवास बालुवाटारमा नेताहरुबीच सामूहिक छलफल पनि भएको थियो।
८ वैशाखमा सरकारले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश ल्याएपछि नेकपामा विवाद बढेको हो। पार्टीभित्रै चर्को विरोध भएपछि प्रम ओली ब्याक भएका छन् र १२ वैशााखमा दुवै अध्यादेश खारेज भएका छन्।
अध्यादेश प्रकरणसँगै अध्यक्ष तथा प्रम ओली पार्टीभित्र चेपुवामा परेका छन्। प्रचण्ड, नेपाल, खनाल र गौतम चारैजना ओलीको विकल्प खोज्नुपर्ने पक्षमा देखिएपछि ओली संकटमा परेका हुन्।
प्रधानमन्त्रीले नैतिकताका आधारमा पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने आवाज नेकपाभित्र चर्को भएको छ। नेता माधव नेपालको निवास कोटेश्वरमा आइतबार बसेको नेपाल पक्षधर स्थायी कमिटीका नेताहरुको अनौपचारिक बैठकले सरकार र पार्टी दुवै मोर्चामा ओली असफल भएको निश्कर्ष निकालेको बताइएको छ।
उता, प्रतिपक्षी दलहरुले मोर्चाबन्दी नै गरेर सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन्।
कोरोना भाइरसको महामारीका बेला राजनीतिक दाउपेचमा लागेको भन्दै सामाजिक सञ्जालमा ओलीको चर्को आलोचना भइरहेको छ।
ओली पक्षका नेताहरु पार्टीभित्रको र बाहिरको दुवै आवाज मत्थर पार्न लागिपरेका छन्। सेक्युरिटी प्रेस खरिदमा एजेन्टसँग ७० करोड घूस मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका गोकुल बास्कोटा, सांसद महेश बस्नेतलगायत यो काममा अग्रमोर्चामा देखिएका छन्।
ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप नेपाललगायत भने नेपाल र प्रचण्ड पक्षसँग छलफल गरेर ओली सरकारमाथि आइलागेको संकट टार्न लागिपरेको बताइएको छ।
मन्त्रिमण्डल पुनर्गठन, केही मुख्यमन्त्री हेरफेर वा पार्टीभित्र एक व्यक्ति एक पद को नीति लागू गर्ने विकल्प मध्यस्थकर्ता नेताहरुले अगाडि सारेका छन्। नेकपा संसदीय दलमा १७४ सदस्य छन्।