जनकपुरधाम- प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल लकडाउनमा पनि प्रदेशको पूर्वाधार निर्माणका कार्य अगाडि बढाउने तयारीमा जुटेका छन्।
मन्त्री सोनलले सोमबार लकडाउन अवधि र त्यसपछि विकास निर्माणको कार्यलाई तीव्रता दिन सरोकारबालाहरुसँग छलफल गरेका हुन्।
कोरोना महामारीबाट जोगिँदै विकास निर्माणको कार्य पनि नरोकियोस् भन्दै तयारी तीव्र पारिएको हो।
मन्त्री सोनलका अनुसार सडक विस्तारतर्फ प्रदेश २ को एउटा जिल्लालाई अर्को जिल्लासँग जोड्ने, एउटा स्थानीय निकायलाई अर्को निकायसँग जोड्ने कालोपत्रे सडकलगायतको विषयमा छलफल भएको छ।
उनका अनुसार लकडाउन अवधिमा तयारी गर्ने र सम्भव भए काम पनि अगाडि बढाइनेछ। नभए लकडाउन समाप्त भएलगतै विकास निर्माणको कार्य अघि बढाइने उनले जानकारी दिए।
छलफलमा मन्त्री सोनलसहित राज्यमन्त्री डा. डिम्पल झा, सचिव राजेन्द्र खनाल र महाशाखा प्रमुख सहभागी थिए।