काठमाडाैं- सरकारले लकडाउनमा झन् कडाइ गरेकाे छ। गृह मन्त्रालयले सोमबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै बिनापासका सवारीसाधन चल्न नदिन र यात्रु ओसारपसारमा प्रतिबन्ध लगाएको हो।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जिल्ला प्रशासनबाट पास लगेका सवारीसाधनबाहेक अरुलाई चल्न नदिन सबै प्रमुख जिल्ला अधिकारीलाई सचेत गराएको जानकारी दिए।
राजधानीसहित विभिन्न जिल्लामा अलपत्र यात्रुलाई स्थानीय तहबाटै व्यवस्थापन गरी घर फर्काइँदै आएको छ। यसरी उद्धार गर्दा कमजोर आर्थिक अवस्था भएका र सहरी क्षेत्रमा स्थायी बसोबास नभएकाहरुले राहत अनुभव गर्दै आएका थिए।
गृह मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि अलपत्र सर्वसाधारण ओसारपसारमा प्रतिबन्ध लगाएको छ।
परिपत्रमा अत्यावश्यक सेवाबाहेकका सवारीसाधन सञ्चालन तथा यात्रु ओसापसारलाई पूर्ण रुपमा रोक लगाउन भनिएको छ।
लकडाउनका कारण धेरै सर्वसाधारण घरबाहिर रहँदा दैनिक गुजारा गर्नसमेत नपाएपछि गाउँ फर्कंदै आएका छन्।
बिनपास सवारीसाधन चलेको भन्ने व्यापक गुनासा आएपछि सरकारको पुरानै निर्देशनलाई सम्झाउने काम भएको शर्माले बताए।
‘सवारी पास जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीवाहेक कसैलाई छैन’, शर्माले भने, ‘लकडाउन कडाइ गर्ने सरकारको नीतिअनुसार बिना पासको सवारी चल्न पूर्ण रुपमा बन्द गर्न भनिएको छ।'
यसैबीच प्रहरीले विराटनगर महानगरपालिकाले पठाएका केही यात्रुलाई नागढुंगामा राेकेकाे छ। विराटनगर महानगरपालिकाले गाडी रिजर्भ गरेर काठमाडौं पठाएका यात्रु नागढुंगा चेकपोस्टमै रोकिएका हुन्।