बिहीबार, भदौ ४, २०८३

लकडाउनले भित्र्याएको खुसी, गाउँ बन्यो गुलजार

बिहानैदेखि खेतबारीमै व्यस्त हुन्छु। अरु बेला काम गर्ने मान्छे नहुँदा खेतबारी बाँझै होला भन्ने पिर हुन्थ्यो। अहिले त सबै गाउँ फर्केका छन्, काम गर्नेको कमी छैन। गाउँका सबै खुसी देख्छु।’
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

भैरहवा– रोल्पाको सुनछहरी गाउँपालिका–५ मा यतिबेला मकै छर्ने चटारो छ। एकाबिहानै गोरु नारेर बारीमा पुगेका गाउँले साँझ परेपछि मात्रै घर फर्किन्छन्।

तिरबहादुर रोका राजनीतिकर्मी पनि हुन्। लकडाउनका कारण गाउँमै बसिरहेका उनी अहिले पूर्णकालीन किसान बनेका छन्। गाउँमा गहुँ, जौलगायत बाली स्याहारेर मकै छर्नेको भ्याइनभ्याइमा उनी पनि सामेल छन्।  

रोका भन्छन्, ‘बिहानैदेखि खेतबारीमै व्यस्त हुन्छु। अरु बेला काम गर्ने मान्छे नहुँदा खेतबारी बाँझै होला भन्ने पिर हुन्थ्यो। अहिले त सबै गाउँ फर्केका छन्, काम गर्नेको कमी छैन। गाउँका सबै खुसी देख्छु।’

नेकपा सिद्धार्थनगर कमिटी इन्चार्जका रुपमा रुपन्देहीलाई कार्यक्षेत्र बनाएका रोका लकडाउनले सबैलाई गाउँ फर्किने र गाउँको सेवा गर्ने मौका दिएको बताउँछन्।

उनले नेपाल समयसँग फोनमा भने, ‘मजस्तै सयौं युवा यतिबेला गाउँमै छौं। सबै खेतबारीमै व्यस्त छौं। घरपरिवारमा पनि रमाइलो छ।’

जिल्ला सदरमुकाम लिवाङदेखि ५० किलोमिटर उत्तरपूर्वमा पर्ने सुनछाहारी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनमगर पनि सबै गाउँले आआफ्नै खेतबारीमा ब्यस्त हुँदा एक खालको क्वारेन्टाइजस्तै अवस्था भएको बताउँछन्। 

उनी भन्छन्, ‘गाउँका सबै खेतबारीमै व्यस्त भएपछि एक घरको अर्को घरसँग, एक गाउँको अर्को गाउँसँग भेटघाट पनि छैन।’

अध्यक्ष पुनमगरका अनुसार लकडाउन भएदेखि गाउँपालिकामा अहिलेसम्म करिब १२०० जना फर्केका छन्। त्यसमध्ये १२ जना विदेशबाट र धेरैजसो काठमाडौं, पोखरा, रुपन्देहीबाट फर्केका उनले जानकारी दिए।

युवा गाउँ फर्केपछि सुनछहारीझैं रोल्पाका ९ वटा गाउँपालिका र एउटा नगरपालिका यतिबेला गुलजार रहेको नेपाल पत्रकार महासंघ रोल्पाका सभापति महेश न्यौपाने बताउँछन्।

उनले भने, ‘रोल्पामा यतिबेला श्रम भित्रिएको छ। वर्षौंदेखि खेतबारी एक्लै सम्हालिरहेका महिला युवाको उपस्थितिले खुसी छन्।’

प्रदेश ५ को पहाडी जिल्ला रोल्पाका खेतबारीका तस्बिर सामाजिक सञ्जालमा समेत प्रशस्तै देखिन्छन्।

लकडाउन घोषणा भएपछि अहिलेसम्म रोल्पा जिल्लामा बसबाट मात्रै करिब ४ हजार ९९२ जना अन्य जिल्ला र विदेशबाट घर फर्किएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए। यीमध्ये ६८८ जना विदेशबाट फर्केका छन्।

ढकालले भने, ‘जिल्लामा १७५ वटा क्वारेन्टाइन बनाइएको छ। बाहिर रहेका रोल्पालीहरु फर्किने क्रम जारी छ। उनीहरु सबैलाई अनिवार्य क्वारेन्टाइन राख्ने गरिएको छ।’

तत्कालीन माओवादीले सशस्त्र द्वन्द्व सुरु गर्दा रोल्पा विद्रोहको केन्द्र थियो। उपराष्ट्रपति नन्दबहादुर पुन, ऊर्जामन्त्री वर्षमान पुन, प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्ती, पूर्व सभामुख ओनसरी घर्ती, प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द र पूर्वसभामुख कृष्णबहादुर महराको घर पनि रोल्पा नै हो ।  

नेपालको शासन सत्तामा बलियो पकड जमाएका थुप्रै कम्युनिस्ट नेताको जन्मथलो रोल्पाका युवा भने रोजीरोटीकै जोहोका लागि विदेशिने वा कामका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता छ।

तर, नराम्रोका बीच केही राम्रो पनि हुन्छ भने झैं अहिलेको विश्वव्यापी कोराना कहर र लकडाउनका बीच युवा फर्किएपछि गाउँघर गुलजार भएका छन्।

 

 

प्रकाशित: Apr 26, 2020| 19:45 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।