धरान - विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कोरोना भाइरसको उपचारका लागि छुट्टै अस्पताल सञ्चालनमा आएको छ। कोरोना भाइरसको उपचार तथा रोकथामका लागि सञ्चालित सो अस्पतालमा १३ वटा आइसीयूसहितको भेन्टिलेटर सुविधा रहेको छ।
पहिलोचरणमा सञ्चालनमा ल्याइएको एकसय शय्यासहितको ‘आइसोलेसन’ कोभिड– १९ अस्पतालको उद्घाटन गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कोरोनाको केन्द्रबिन्दुकारुपमा रहेको प्रदेश १ मा कोरोना भाइरसको उपचार र रोकथामका लागि गम्भीर भएको बताए।
प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विपी प्रतिष्ठानमा एक हप्तामा एकसय बेडको अस्पताल तयार भएको उल्लेख गर्दै आवश्यक परेको अवस्थामा यहाँ थप ५ सय बेड तयारी गरिने जानकारी दिए।
अत्याधुनिक सेवा सुविधाकासाथ अस्पताल सञ्चालनमा आएको प्रतिष्ठानका प्रवक्ता डा. अशोक ऐरले बताए। उनले अस्पतालमा १३ वटा आइसीयूसहितको भेन्टिलेटर, छुट्टै एक्सरे र अल्ट्रा साउन्डको सुविधासहित अस्पताल सञ्चालनमा ल्याइएको बताए।
यसअघि कोरोनाको आशंकाका बिरामीहरुको स्वाब परीक्षण गर्न काठमाडौं पुर्याउनुपर्ने अवस्था थियो। केही समय अगाडि सरकारले प्रदेश नम्बर १ को लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको परीक्षण गर्ने घोषणा गरेको थियो। प्रदेश नम्बर १ मा कोरोना संक्रमणको दर सबैभन्दा बढि रहेको छ। प्रदेशमा हालसम्म ३० जना कोरोना भाइरसबाट संक्रमित भेटिएका छन्।
यसअघि कोरोना संक्रमित व्यक्तिहरूलाई प्रतिष्ठानले विराटनगरको कोरोना अस्पतालमा पठाउँदै आएको थियो। प्रतिष्ठानले कोरोनाको परीक्षण पनि यसअघि नै सुरू गरिसकेको थियो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र पिसिआर परीक्षण भइरहेको अवस्थामा पहिलोपटक प्रतिष्ठानले प्रयोगशालाबाट परीक्षण सुरू गरेको थियो।
प्रतिष्ठानले छुट्टै कोरोना अस्पताल सञ्चालन गरेसँगै यसले प्रदेश १ मा कोरोना संक्रमित बिरामीको चापलाई व्यवस्थापन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।