काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकता भई गठन भएको जनता समाजवादी दल दर्ताको प्रक्रिया अघि नबढाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।
जनता समाजवादी पार्टी नेपाल, संविधान विपरीत रहेको दाबी गरेर दर्ताको प्रक्रिया रोक्न माग गर्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघका तर्फबाट केन्द्रीय सदस्य अमित लामा र अधिवक्ता विपिन ढकालले उजुरी दर्ता गराएका हुन्।
राजपा र समाजवादी पार्टी एकीकरणको सहमति पत्रमा नेपाल ‘बहुराष्ट्रिय राज्य’ उल्लेख भएको र उक्त व्यहोरा संविधान विपरीत भएकोले दल दर्ताको प्रक्रिया रोक्न निवेदन दिइएको लामाले बताए।
बहु राष्ट्रिय भन्नाले छुट्टै देश भन्ने अर्थ झल्कने गरी दल दर्ता प्रस्ताव गरिएकोमा त्यसलाई रोक्न माग गरिएको उनको भनाइ छ।
“पार्टीले प्रयोग गर्ने भनिएको झण्डा समेत बुर्किना फासो देशको झण्डासँग मेल खाएकोले त्यसले परराष्ट्र सम्बन्धमा प्रतिकूल असर पर्छ”, अधिवक्ता ढकालले भने, “संयुक्त राष्ट्रसंघको वडापत्रमा प्रत्येक सदस्य राष्ट्रको सार्वभौमिकतालाई प्रत्येक सदस्य राष्ट्रले मान्यता दिनुपर्ने प्रवधान विपरीत यो कार्य भएको छ।”
११ वैशाखमा राजपा नेपाल र समाजवादी पार्टीबीच एकता गर्ने सहमति भएको जानकारी आयोगमा गराइएको थियो। पार्टीको नाम ‘जनता समाजवादी पार्टी नेपाल’ प्रस्ताव गरिएको छ। १० वैशाख राति उनीहरूबीच एकता गर्ने सहमति भएको थियो।
निर्वाचन आयोगका सहसचिव लक्ष्मीप्रसाद गौतमले दल एकीकरण गर्ने सहमतिपत्र आयोगमा बुझाइए पनि दल दर्ताका लागि निवेदन परिनसकेको जानकारी दिएका छन्।
राजनीति दल सम्बन्धी ऐन, २०७३ अनुसार कुनै पनि दलले एकताका लागि सहमतिपत्र बुझाएको ४५ दिनभित्र विधानसहित आवश्यक कागजात बुझाएर दर्ताका लागि आयोगमा निवेदन दिइसक्नुपर्छ।