काठमाडौं- जनता समाजवादी पार्टीका नेताहरुले सांसद सुरेन्द्र यादवको 'अपहरण' विरुद्ध महानागरीय प्रहरी परिसर, टेकुमा जाहेरी दिन पुगे पनि प्रहरीले दर्ता गर्न मानिरहेको छैन।
नवगठित जनता समाजवादी पार्टीका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरत सिंह भण्डारी र अधिवक्ता सुरेन्द्र महतो लगायतका नेताहरु सहित परिसर पुगेका सुरेन्द्र यादवले अपहरणविरुद्ध जाहेरीको निवेदन दिए पनि अहिलेसम्म उक्त जाहेरी दर्ता हुन सकेको छैन।
प्रहरीले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै जाहेरी दर्ता गर्न नमानेको परिसरमा उपस्थित समाजवादीका एक नेताले जानकारी गराएका छन्। जनता समाजवादीका नेता उपेन्द्र यादवले प्रक्रिया पुरा भएर आएको निवेदन प्रहरीले दर्ता गर्नै पर्ने बताएका छन्। उनले भने, 'महोतरीबाट अपहरण गरी काठमाडौं ल्याइएकोले काठमाडौं प्रहरीको अधिकार छेत्रभित्र पर्छ।'
प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले अहिलेसम्म जाहेरी दर्ता भइनसकेको र आफू छलफलमै रहेको जानकारी दिएका छन्।
गत बुधबार समाजवादी पार्टी टुक्राउनका लागि सांसद सुरेन्द्र यादवलाई प्रधानमन्त्रीको निर्देशनमा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, एमाले नेता महेश बस्नेत, किसान श्रेष्ठ लगायतले महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको उनीहरुको आरोप छ। यादवलाई महत्तोरीबाट ल्याएर होटेल मेरियटमा राखिएको र अर्को दिन विहान उनी त्यहाँबाट फुत्किन सफल भएको यादवले बताएका छन्।
यसअघि ८ बैशाखमा सरकारले राजनीतिक दल गठन सम्बन्धी अध्यादेश ल्याएको थियो ।
अध्यादेशका कारण नेकपाभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीको तिब्र आलोचना भएपछि अध्यादेश फिर्ता गरिएको छ।
अध्यादेश सिफारिस गरेकै दिन साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश नेकपा फुटाउन नभई अन्य कुनै राजनीतिक दल फुटाउनका लागि ल्याइएको प्रष्टिकरण दिएका थिए।
दल फुट्ने हल्लाले समाजवादी पार्टी र राजपाबीच रातारात पार्टी एकता भएर जनता समाजवादी पार्टी गठन भएको छ।
*यो समाचारमा 'जाहेरी दर्ताको प्रयास'हुनुपर्नेमा यसअघि अन्यथा भएकोले स-खेद सच्याइएको छ- सं.