करिब ४ महिनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख नाघेको छ।
कोरोना भाइरसबारे विश्वभरको तथ्यांक अपडेट गर्दै आएको वेबसाइट वर्ल्डओमिटरका अनुसार शनिबार रातिसम्ममा यो भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ४ सय पुगेको छ।
विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या २८ लाख ६७ हजारभन्दा बढी छ। तीमध्ये ८ लाख १९ हजार ठिक भएका छन्।
यद्यपि, विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस सङ्क्रमणपछि निको भएर घर फर्किएका व्यक्तिलाई पुनः सङ्क्रमण हुँदैन भन्ने निश्चित नरहेको भन्दै चेतावनी दिएको छ।
डब्लुएचओका अनुसार उनीहरूलाई पुनः सङ्क्रमण नहुने कुराको सुनिश्चितता हुँदैन।
डब्लुएचओको चेतावनीको अर्थ यो हो कि सङ्क्रमणबाट निको हुनु भनेको सङ्क्रमणबाट स्वस्थ भएपछि पुनः यो दोहोरिने आधारहरू छैनन् अर्थात् यो नै कोभिड–१९ सङ्क्रमण ‘प्रतिरोधको प्रमाणपत्र’ होइन।
डब्लुएचओले शनिबार जारी विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९बाट निको भएको वा रोग प्रतिरोधी औषधिको प्रयोग गरेको व्यक्ति दोस्रो सङ्क्रमणबाट सुरक्षित छ भन्ने अहिलेसम्म त्यस्तो कुनै तथ्य भेटिएको छैन ।”
गत डिसेम्बर अन्तिम साता पहिलोपटक चीनको उहानमा देखा परेको कोरोना भाइरस विश्वभर फैलिसकेको छ।