रोल्पा- रोल्पाका गाउँमा बढी चहलपहल भएपछि कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो ५ दिनमा देशका विभिन्न ठाउँबाट गरी रोल्पामा २७९७ व्यक्ति घर फर्किएका छन्।
अझै एक हजारभन्दा बढी स्थानीय गाउँ फर्किनका लागि सम्पर्कमा रहेको कार्यालयले जनाएको छ।
कोरोना भाइरस संक्रमण देखिएका ठाउँबाट पनि मानिसहरु फर्किएकाले स्थानीयमा त्रास बढेको होलेरीका स्थानीय नन्दराम खड्काले बताए।
होलेरी क्षेत्रबाट मात्रै २ हजारभन्दा बढी गाउँ फर्किएका छन्।
प्रशासनले भने बाहिरबाट आएका सबैलाई कम्तीमा २ हप्तासम्म क्वारेन्टाइनमा राखिएको जनाएको छ। तर बाहिरबाट आएका मान्छेलाई क्वारेन्टाइनमा राखिए पनि प्रभावकारी नदेखिएको स्थानीय जनक पुन बताउँछन्। उनका अनुसार कपितयले क्वारेन्टाइनको नियम नै पालना गरेका छैनन्।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले केही स्थानीय तहको क्वारेन्टाइनमा कमजोरी भएको
स्विकारेका छन्।