काठमाडौं - दुवै अध्यादेश फिर्ता लिने सम्बन्धी सरकारले गरेको निर्णयको विभिन्न पार्टीका नेताहरुले स्वागत गर्दै अपहरण शैलीमा सांसद उठाउनेलाई कारबाही हुनुपर्ने बताएका छन्। सरकारले गरेको उक्त निर्णय सार्वजनिक भएलगत्तै विभिन्न दलका नेताहरुले सामाजिक संजालमार्फत प्रतिक्रिया जनाएका छन्।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमा लेखेका छन्, ‘अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो, अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारबाहीको प्रतीक्षामा छ देश!’ शर्माले अगाडि लेखेका छन्, ‘जनताको तर्फबाट आग्रह छ, अब सम्पूर्ण ध्यान र शक्ति कोरोनाविरुद्धको संघर्षमा केन्द्रित गरौं, पहिले नागरिकको जीवन जोगाऔं फुर्सदमा राजनीतिक विवाद गरौंला।’

जनता समाजबादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा प्रहार गरेका छन्। भट्टराईले लेखेका छन्, ‘समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैंतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिएछन्।’ उनले अगाडि लेखेका छन्, ‘यस बीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानवीन र कारबाही हुनैपर्छ! उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ। सावधान!’

यस्तै साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले पनि अध्यादेश फिर्ता लिने सरकारी निर्णयको स्वागत गर्दै तत्कालिन घटनाको समाधान निस्किए पनि भ्रष्टता र स्वार्थलिप्तताको श्रृंखला ३० वर्षदेखि नरोकिएको प्रतिक्रिया दिएका छन्। मिश्रले ट्वीट गर्दै भनेका छन्, ‘अध्यादेश फिर्ता लिनु खुसीको विषय हो तर, तात्कालिक घटनाको समाधान निस्किए पनि यिनको भ्रष्टता र स्वार्थलिप्तताको श्रृंखला ३० वर्षदेखि रोकिएको छैन। त्यो फेरी छिट्टै अर्को रूपमा प्रकट हुनेछ कि हामी त यस्तै हो ब्रो भनेर यिनैलाई जिम्मा लाऊँ। नत्र अब देश बनाउने आगो बोकेकाहरू एकजुट हौं।’

चौतर्फी दबाबपछि सरकारले हालै ल्याएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी ऐनको संशोधन अध्यादेशबाट पारित गराएर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि सत्तारुढ दल नेकपाभित्र र बाहिर विवाद बढेको थियो।