काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट जोगिन देशमा बन्दाबन्दी (लकडाउन) सुरु भएको एक महिना पुरा भयो।
अन्य जिल्लाबाट काठमाडौं उपत्यकामा आएर बसोबास गरिरहेका निम्न बर्गीय नागरिकहरु एक महिनाभन्दा लामो समय काठमाडौंमा धानिन सकेनन्।
डेराको रासनपानी सकिएपछि उनीहरु जसरी पनि आफ्नो गाउँ पुग्ने र भरीपेट खाने अठोटका साथ पैदल यात्रामा निस्किन थाले।
पैदल यात्रीहरुको बेहाल भइरहेको समाचारले संघीय सरकारको मन पग्लिन नसके पनि आफ्ना नागरिकको उद्धारका लागि स्थानीय सरकारहरु जुटेका छन्।
अहिले अधिकांश जिल्लाका स्थानीय सरकारहरु काठमाडौंमा अलपत्र पर्ने अवस्थामा रहेका नागरिकको उद्धार गर्दैछन्।
लकडाउन भएका कारण सडकमा प्रहरीले गाडी चलाउन दिन्न। तर अघोषित रुपमा गाडी चलिरहेका छन्।
दिनभर पैदल यात्रा गरेर आफ्नो गाडी लाग्ने नाकातिर पुग्ने र रात परेपछि त्यहाँ आईपुग्ने बसमा कोचिएर आफ्नो गाउँ प्रस्थान गर्नेको काठमाडौंमा लर्को देखिन थालेको छ।
स्थानीय सरकारले नागरिकको उद्धार गर्ने वा संघीय सरकारले उपत्यकामा रहेका यात्रुलाई गाउँ पठाउने कुनै घोषित कार्यक्रम छैन।
तर हरेक दिनजसो ठूलो संख्यामा नागरिकहरु घर फर्किइरहेका छन्।
गाडीसम्म पुग्न हरेक चोकहरुमा प्रहरीलाई स्पष्टिकरण दिँदै नागरिकहरु पैदल नै हिँडिरहेका छन्।