नेपाल पत्रकार महासंघले कोरोना भाइरसको संक्रमणले उत्पन्न गराएको संकटपूर्ण अवस्थाले श्रमजीवी पत्रकारहरुलाई प्रभावित पारिरहेको समयमा केही सञ्चारगृहले दबाब दिएर बेतलबी बिदा दिएको तथा लामो समयदेखि पारिश्रमिक नदिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
महासंघका महासचिव रमेश विष्टले आज (बिहीबार) जारी गरेको विज्ञप्तिमा कान्तिपुर मिडिया ग्रुप तथा अन्नपूर्ण मिडिया ग्रुप सम्बद्ध पत्रकारहरुलाई दबाब दिएर बेतलबी बिदा दिने र नेपाल रिपब्लिक मिडिया प्रालि, एभिन्युज टेलिभिजन, राजधानी दैनिक सहितका कतिपय सञ्चारगृहले लामो समयदेखि पारिश्रमिक नदिएको उल्लेख गरिएको छ।
दबाबपूर्ण बेतलबी बिदाको क्रम रोक्न र पारिश्रमिक नदिएका सञ्चार प्रतिष्ठानहरुलाई अविलम्ब बाँकी पारिश्रमिक भुक्तानी गर्न महासंघले आग्रह गरेको छ। श्रमजीवी पत्रकारहरुको हकहित र अधिकारका लागि अनुगमन, समन्वय र कानुनी लगायतका संघर्ष गर्न भन्दै महासंघले महासचिव रमेश विष्टको नेतृत्वमा एक समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
महासंघले अहिलेको संकटपूर्ण अवस्थालाई मध्यनगर गर्दै सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानहरुको समस्या सम्बोधनका लागि राहत सुविधा उपलब्ध गराउन माग गर्दै केन्द्रमा नेपाल सरकार र प्रदेशमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।
कोरोना संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सुसूचित गर्ने दायित्व पूरा गरिरहेका आम सञ्चारकर्मीहहरुलाई आफ्नो सुरक्षाप्रति संवेदनशील भएर सत्य तथ्य समाचार सम्प्रेषण गर्न महासंघले आव्हान गरेको छ।
कोरोनाको संक्रमण देखिएका जिल्लासहित सबै जिल्लाहरुमा अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन पनि बैठकले नेपाल सरकारसँग माग गरेको छ।
बिहीबार केन्द्रीय समितिको काठमाडौंमा उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठक अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बसेको थियो।