काठमाडौं– देशका बिभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परी बिहीबार ७ जनाको ज्यान गएको छ। सवारी दुर्घटना, नदीमा डुबेर, करेन्ट लागेर तथा मृत अवस्थामा भेटिएको गरी सात जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नवलपरासीको सुनवल नगरपालिका–४ मा बिहीबार बिहान रा.१ त ३०७७ नम्बरको ट्याक्टरको मेसिन भाँचिएर दुर्घटना हुँदा चालकको ज्यान गएको छ। ट्याक्टर दुर्घटना हुँदा चालक स्थानीय २७ वर्षीय राज कुमार सार्कीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
दोलखामा एक महिलाको खोलामा डुबेर ज्यान गएको छ। बिगु गाउँपालिका–२ बस्नेका ६२ वर्षीया बिन्दा ठकुरीको गौरीशंकर गाउँपालिका–७ टोक्ताटारस्थित खानिखोलामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सप्तरीमा एक जनाको करेन्ट लागेर ज्यान गएको छ। खड्क नगरपालिका–९ बजराहागुठीका ४० वर्षीय रामेश्वर मण्डलको करेन्ट लागेर बिहीबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ।
आफ्नै घरमा जस्ता छाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मण्डलको एडभान्स अस्पताल कल्याणपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सोलुखुम्बुमा एक जनाको भिरबाट लडेर ज्यान गएको छ। थुलुङदुधकोशी गाउँपालिका–७ देउसाका ६० वर्षीय गोकुल राईको भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ।
बाख्रा चराउन जंगल गएका राईको वडा नम्बर ८ स्थित सनसारी डाँडाको भिरबाट लडेर मृत्यु भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
सिन्धुली, तनहुँ र जाजरकोटमा ३ जना मृत भेटिएका छन्। प्रहरीका अनुसार सिन्धुलीको दुधौली नगरपालिका–६ भताहीका ७० वर्षीय शन्त बहादुर योञ्जन स्थानीय विद्यालयको प्राङ्गणमा मृत अवस्थामा फेला परेका छन्।
यस्तै तनहुँको भानु नगरपालिका–१ भन्सारका १८ वर्षीय प्रविण गुरुङ नाबरुङस्थित जंगलको खोल्सामो मृत फेला परेको प्रहरीले जनाएको छ।
गुरुङ र स्थानीयबीच मंगलबार झगडा भएको र त्यहीबेला देखि हराएको प्रहरीले जनाएको छ। झगडामा संलग्न १४ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
यस्तै जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका ४५ वर्षीया देवी राना मगर बिहीबार दिउँसो मृत अवस्थामा फेला परेकी छन्। गाउँमा विवाह पार्टीमा गएकी देवी घर नफर्किएपछि खोजी गर्ने क्रममा भेरी नदीको डाब भन्ने स्थानमा शव फेला परेको प्रहरीले जनाएको छ।