भैरहवा– लकडाउनका कारण सहर बजारमा ताजा र हरियो तरकारी नपाउने चिन्ता बढेको छ भने अर्कोतिर विषादी हालेको भारतीय तरकारीको त्रास पनि उत्तिकै छ ।
यी दुवै चिन्तालाई दूर गर्दैै प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र स्थानीय सिद्धार्थ नगरपालिकाको समन्वय तथा जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीको व्यवस्थापनमा भैरहवामा नेपाली किसानहरुले उत्पादन गरेका तरकारी पाउन थालेको छ ।
जिल्लाको सियारी, शुद्धोधन गाउँपालिकाको विभिन्न क्षेत्र र टिकुलीगढका किसानहरुले उत्पादन गरेका हरियो र ताजा तरकारी किसानकै मूल्यमा भैरहवाको टोलटोलमा पाउने गरी व्यवस्थापन गरिएको जनउत्थान बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष ज्ञानु पौडेलले बताइन् ।
अध्यक्ष पौडेलले भनिन्, ‘हामीले किसानले जुन मूल्यमा खेतमा बिक्री गर्नुहुन्छ, सोहि मूल्यमा उपभोक्ताले पाउनेगरी विक्रीको प्रबन्ध मिलाएका छौं ।’
भैरहवामा अन्नपूर्ण टोल, दुर्गा मन्दिर, बैकक्लोनि, डाँडा गाउँमा तरकारी विक्री गरिएको छे ।
१९ हजार ५ सय सदस्य रहेको जनउत्थान सहकारीको प्रबन्धमा भइरहेको उक्त तरकारी विक्री कार्यक्रमले चोरी तस्करी गरेर आउने भारतीय विषादीयुक्त तरकारीलाई पनि विस्थापित गर्ने सिद्धार्थनगरका प्रमुख हरि प्रसाद अधिकारीले बताए ।