काठमाडौं - पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी वायुको प्रभाव कायमै रहेको र प्रिमनसुनी गतिविधि सक्रिय भएकाले बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। अंग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि-मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातर प्रभावित भइरहने हुन्छ। अहिले प्रि-मनसुनका साथै पश्चिमी वायुको प्रभाव रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद्को भनाइ छ।
मौसमविद् अर्यालका अनुसार नेपालको पश्चिमी भूभागबाट पश्चिमी वायु विकसित हुने क्रममै रहेकाले देशभरको मौसममा सुधार आउन अझै केही दिन लाग्ने छ। आज बिहान केही समय मौसम खुले पनि अपराह्नपछि देशभर बदली भई वर्षाको सम्भावना रहेको बताइएको छ।
महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा रहेको पश्चिमी वायु अझै सक्रिय हुने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। हाल देशको पहाडी भूभागमा सामान्य र तराई भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका एक/दुई स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ। भोलि देशका मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पूर्वी भूभागका केही स्थानमा र पश्चिमी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ। यसका साथै भोलि पहाडी भूभागमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।