काठमाडौं - देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परी ५ जनाको ज्यान गएको छ। रुखबाट लडेर, नदिले बगाएर तथा बेवारिसे अवस्थामा शव भेटिएको गरी पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बझाङको केदारस्युँ गाउँपालिका–९ ज्याडाका निर्मल बोहराका १४ वर्षीय छोरा सुकम बोहराको भिरबाट लडेर ज्यान गएको छ। घर नजिकैको भिरबाट करिब २ सय मिटर तल खसेर गम्भीर घाइते भएका सुकमको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र देउरा (रायल) तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
यस्तै रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ सैपुका ६२ वर्षीया हर्कमाँया भुजेलको भिरबाट लडेर ज्यान गएको छ। स्थानीय तारुके सल्लेनी सामुदायिक वनको भिरमा घाँस काट्ने क्रममा करिब ५ सय मिटर तल लडेर उनको ज्यान गएको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ धुसेनीचौरका १८ वर्षीय अर्जुन मिजार सुलिकोटध्याङ जाने बाटोको खोल्सामा मृत अवस्थामा फेला परेका छन्। बिहान खाना खाई गाउँतिर जान्छु भनी घरबाट निस्केका मिजार घर फर्की नआएपछि खोजीगर्ने क्रममा मृत फेला परेका प्रहरीले जनाएको छ। घटनास्थल नजिकबाट प्रहरीले भरुवा बन्दुक एक थानसमेत फेला पारेको छ।
यस्तै म्याग्दीको बेनी नगरपालिका–८ को सडकमा परिचय नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
मोरङको उर्लाबारी नगरपालिका–१ का हस्त बहादुर राईका १४ वर्षीय छोरा सन्देश राईको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। घरबाट करिब एक किलोमिटर टाढा बक्रा खोलाको पानीमा डुबेका राईको अरनिको अस्पताल उर्लाबारी मोरङमा उपचारको क्रममा मृत्यु भएको हो।