काठमाडौं- कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि व्यापार, व्यवसाय र रोजगारी गुमेर समस्यामा परेका श्रमिक र न्यून आय भएका व्यक्ति कुम्लोकुटुरोसहित लालाबाला च्यापेर घर फर्किएका छन्।
जडीबुटीमा भेटिएका रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले लकडाउनका कारण विपदमा परेका नागरिकलाई उद्धार गरी घर फर्काउन जुटिरहेको बताए।
उनले भने, “धेरै नागरिक लकडाउनका कारणले विपदमा थिए। धेरैजसो श्रमिक छन्। घर जान चाहनेहरुको यो भीड हो। नगरपालिकाबाट लिन भनेर म यहाँ आएको हुँ।”
उक्त नगरपालिकाले मंगलबार १३ र बुधबार १० वटा बसको व्यवस्था गरी समस्यामा परेका नागरिकलाई उद्धार गरेको छ।
त्यस्ता नागरिकलाई नगरपालिकाले आफ्नै खर्चमा घर लैजाने व्यवस्था गरेको नगरप्रमुख थापामगरले जानकारी दिए।
जडीबुटी क्षेत्रमा त्यसरी घर फर्कन चाहने दोलखा, सिन्धुली, रामेछाप, ओखलढुंगा, सिन्धुपाल्चोकलगायत जिल्लाका यात्रुको भीडलाई व्यवस्थापन गर्न भक्तपुरका प्रहरी प्रमुखको नेतृत्वको सुरक्षा टोलीलाई हम्मेहम्मे परेको देखिन्थ्यो।
सिन्धुलीको तीनपाटन गाउँपालिकाकी उपप्रमुख पदममाया तामाङ पनि लकडाउनमा अलपत्र परेका नागरिकको उद्धारका लागि बुधबार राति अबेरसम्म जडीबुटीमा खटिएकी थिइन्।
उनले दुई दिनमा झन्डै ८०० को हाराहारीमा घर फर्कन चाहने सर्वसाधारणको व्यवस्थापन गरी पठाएको बताइन्। उनले भनिन्, “धेरैजसो बालबालिका र आमाहरुको उद्धार गरिएको छ।”
लकडाउनका समयमा यथास्थानमा बस्ने र घराबाट बाहिर ननिस्कन भने पनि रोजीरोटीको समस्यामा परेका सर्वसाधारणले साताभन्दा बढी समयको पैदलयात्रामा उत्रिएपछि स्थानीय तहलाई आफ्ना नागरिकलाई व्यवस्थापन गरेर लैजान सरकारले अनुमति दिएको थियो। -रासस