काठमाडौं- राजपा र समाजवादी पार्टी एकीकरणको घोषणा हुँदै गर्दा समाजवादी पार्टी फुट्ने भएको छ।
उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका असन्तुष्ट सांसदहरुले एकीकरणपछिको नयाँ पार्टी जनता सामाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुनु अगावै समाजवादी पार्टी फोडेर नयाँ दल दर्ता गराउने कसरत गरेका छन्।
समाजवादीकी उपाध्यक्ष रेणु यादवको नेतृत्वमा पार्टी विभाजनको तयारी भइरहेको छ।
समाजवादी पार्टी फोडेर नयाँ दल दर्ताका लागि सात जना सांसदले हस्ताक्षर गरे पुग्छ । तर, बुधबार अबेरसम्म एक सांसद काठमाडौं आउन नसक्दा हस्ताक्षर संकलन पुरा भएन।
सांसद विमल श्रीवास्तव काठमाडौं आउन नसक्दा बुधबार अबेर रातिसम्म संसद सचिवालयमा हस्ताक्षर बुझाउने कार्य हुन नसकेको हो ।
अब श्रीवास्तव नभएपनि समाजवादी विभाजनका लागि ७ जना सांसद पुग्ने भएका छन्।
स्रोतका अनुसार रेणु यादव, इस्तियाक राई, उमाशंकर अरगरिया, प्रदीप यादव, सुरेन्द्र यादव, कलुदेवी विश्वकर्मा र रेणुका गुरुङ पार्टी विभाजनको पक्षमा छन्। यसैगरी, विमल श्रीवास्तव पनि सहभागी हुने भएको स्रोतको भनाई छ।
यादवको शान्तिनगरस्थित निवासमा भएको सात सांसदको भेलाले भोलि विहानै निर्वाचन आयोगमा नयाँ दल दर्ता गराउने निर्णय गरेको छ। पार्टी विभाजनकै लागि सांसद सुरेन्द्र यादव जनकपुरबाट सरकारी सहयोगमा राति अबेर काठमाडौं आइपुगेका छन्। यादव दिउँसो एक्कासी सम्पर्कविहिन भएपछि समाजवादी पार्टीले उनलाई प्रहरीले अपहरण गरेको आरोप लगाएको थियो।
तर, उनी प्रहरी नियन्त्रणमा नभई सरकारको सहयोगमा पार्टी विभाजन गराउन काठमाडौं आउन लागेका थिए।
बाबुराम र लालबाबुको कसरत
पार्टी विभाजन नगर्न आग्रह गर्दै बाबुराम भट्टराईले नेतृ यादवको निवासमा केही घण्टा विताएका थिए। बुधबार विहान भट्टराई रेणु यादवको निवासमा पुगेर पार्टी विभाजन कार्य रोक्न आग्रह गरे। त्यससँगै पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने प्रलोभन पनि भट्टराईले दिएका थिए।
यसैगरी, प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पनि नेता इस्तियाक राईको निवासमा पुगेर पार्टी विभाजन नगर्न आग्रह गरेका थिए।
राउतले पनि केही घण्टा राईलाई फकाउने प्रयास गरेका थिए।