प्रदेश ५ को मन्त्रीपरिषद बैठकले कोरोना भाइरस जोखिम व्यवस्थापनका लागि तराईका जिल्लाहरुलाई ८ लाख र पहाडी जिल्लाहरुलाई ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
१२ जिल्ला रहेको प्रदेश ५ मा रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, दाङ, बर्दिया र बाँके तराईका जिल्ला हुन् भने प्यूठान, रोल्पा, रुकुम, अर्घाखाँची, पाल्पा, गुल्मी पहाडी जिल्ला हुन् ।
यसैगरी मन्त्रीपरिषद बैठकले चालू वर्ष २०७७ मा ६ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । बैठकले प्रदेशभर बिदा दिनेगरी बकरईदा, माघी पर्व माघ १ गते र २ गते, प्रदेश स्थापना दिवस फागुन ३ गते विदा घोषणा गरेको छ ।
यसैगरी स्थानीय तहको निर्णयबाट हुनेगरी स्थानीय तहलाई एक दिन विदा दिने निर्णय गरेको छ । यसैगरी रुकुम रोल्पामा भूमे पूजा, थारु समुदायलाई बडकवा अतवारीको अवसरमा विदा र पाल्पा जिल्लामा भगवती जात्राको बिदा दिने निर्णय पनि गरेको छ ।
यसैगरी बैठकले बाल रोग विशेषज्ञ डा. किरणमणि पौडेललाई लुम्बिनी प्रादेशिक अस्पतालमा हाजिर गराई कामकाजमा खटाइएको पनि प्रदेश सरकारका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।