काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको अवस्थामा दलहरुले ग्याङ-अप गरेर अस्थिरता सिर्जना गर्ने नरहेको बताएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै थापाले सरकारले ल्याएका अध्यादेशहरु अनुपयुक्त तथा संविधानविपरित रहेको भएपनि दलहरुले अहिलेको कठिन अवस्थामा ग्याङ-अप गरेर अस्थिरता सिर्जना गर्नुभन्दा संसदमार्फत संवैधानिक प्रक्रियाबाट समाधान खोज्नुपर्ने बताए।
थापाले भनेका छन्, ‘सरकारद्वारा जारी अध्यादेशवारे राजनीतिक दलहरुले आफ्नो धारणा सार्वजनिक गरिसकेका छन्।ति अध्यादेशहरु अनुपयुक्त, अनावश्यक र संविधानको भावना विपरित रहेको राप्रपाको ठहर छ। तर,अहिलेको अवस्थामा दलहरुले ग्याङ-अप गरेर अस्थिरता सिर्जना गर्ने होइन संसदमा संवैधानिक प्रक्रियाबाट समाधान खोज्नुपर्छ।’
थापाले संवैधानिक अध्यादेशबारे राप्रपाको विरोध सैद्धान्तिक रहेको बताए। उनले शक्ति पृथकिकरण र नियन्त्रण सिद्धान्तको आधारमा संवैधानिक अंगहरुमा योग्य तथा सक्षम व्यक्ति नियुक्त हुनुपर्ने आफूहरुको माग रहेको बताए। अध्यक्ष थापाले राप्रपा भागबन्डाको विरोधमा रहेको बताए। उनले भने,‘सत्तापक्षले एकलौटी गर्यो प्रतिपक्षीलाई पनि भाग दिनुपर्छ भन्ने हाम्रो माग होइन। राप्रपा भागबन्डाको बिरुद्धमा छ’
कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेससहित राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त बैठक पछि अध्यक्ष थापाले ट्वीटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।