काठमाडौं - तिब्बत सरकारले चैत २८ गते ल्हासामा नेपाल सरकारलाई हस्तान्तरण गरेको अनुदानको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ। तातोपानी नाका हुँदै रु आठ करोड ३१ लाख बराबरको उक्त सामग्री आज नेपाल प्रवेश गरेको हो। तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार नेपाल प्रवेश गरेको उक्त स्वास्थ्य सामग्री आजै काठमाडौं आइपुग्नेछ।
अनुदानस्वरुप तिब्बत सरकारले नेपाल सरकारलाई दिएको स्वास्थ्य सामग्रीमा दश/दश हजार थान एन–९५ मास्क, टेष्टिङ किट र पीपीई, एक हजार थान इन्फ्रारेड थर्माेमिटर, दुई थान पिसिआर मेशिन र पचास थान वेट वाइप छन्। तिब्बत सरकार ल्हासाका विदेश विभाग प्रमुखले नेपाली महावाणिज्यदूत गोविन्द कार्कीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए।