काठमाडौं- ४२ जना कोरोना संक्रमितमध्ये २४ जना उदयपुरमा मात्रै भेटिएपछि पूरै जिल्ला सिल गरिएको छ।
आवातजावत पूर्ण रुपमा रोकिएको छ भने एउटा घरबाट अर्को घरमा जानसमेत प्रतिवन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए। उनका अनुसार घरबाहिर निस्किने जो कोहीलाई पक्राउ गरिएको छ।
यसअघि कोरोना भेटिएको त्रियुगा नगरपालिकाको भुल्के क्षेत्रलाई मात्रै सिल गरिएको थियो। मंगलबार थप ११ जना संक्रमित भेटिएपछि पूरै जिल्ला सिल गरिएको हो।
गाउँ फर्किनेको ताँती रहे पनि उनीहरुलाई सीमा क्षेत्रमै रोकिएको छ भने उदयपुर छाडेर कसैलाई पनि बाहिर निस्किन नदिएको प्रमुख जिल्ला अधिकारी पहाडीले बताए।
जिल्ला सिल गरिए पनि भुल्के क्षेत्रमा प्रहरीको विशेष निगरानी छ। उक्त क्षेत्रमा अत्यावश्यक पसलबाहेक केही पनि खोल्न दिइएको छैन।
प्रत्येक घरमा प्रहरीले निगरानी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए। उनका अनुसार यो क्षेत्रमा माइकिङ गर्ने र गस्ती गर्ने क्रम तीव्र पारिएकाे छ।
सुरुमा संक्रमण मस्जिदमा गएकाबाट फैलिएकाले उनीहरु गएको हुनसक्ने अन्य मस्जिदमा पनि निगरानीमा कडा पारिएको एसपी बुढामगरले बताए। उदयपुरमा ११ वटा मस्जिद रहेको र त्यहाँ गएका मानिसको ट्रेसिङ गरिरहेको उनले जानकारी दिए ।
यसअघि १३ जनामा संक्रमण देखिकै ठाउँका ११ जनामा कोरोना पुष्टि भएसँगै स्थानीय पनि त्रसित देखिएका छन्। उनीहरु घर भित्रै बसिराखेका छन् भने अत्यावश्यक केही पसल मात्रै खुलेका छन्।
जिल्ला सिल गरिएपछि केहि खाद्यान्न, ग्यास डिलर र केहि मेडिकल पसलहरु मात्रै खुलेको प्रहरीले जनाएको छ ।