काठमाडौं- पश्चिमी र स्थानीय वायुको प्रभावले विगत केही दिनयतादेखि देशभर बदलीसँगै मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र प्रि–मनसुन सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको मौसमविद् समीर श्रेष्ठले बताए। उनका अनुसार प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ।
'अहिले प्रिमनसुनको साथै पश्चिमी वायुकोको प्रभाव रहेकाले बिहानैदेखि बदलीसहित वर्षा भएको हो', मौसमविद् श्रेष्ठले भने।
यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ। उक्त मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने बताइएको छ।
देशको मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भूभागका धेरै जसो स्थानमा र मध्य र पूर्वी तराईका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक–दुई स्थानमा र पूर्वी तराईका केही स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना छ।
बिहीबार देशको पहाडी भूभागका साथै मध्य र पश्चिमी तराईका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ।
शुक्रबार देशको मध्य र पूर्वी भूभागको केही स्थानमा र पश्चिमी पहाडी भूभागका एकदुई स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना छ।