कोरोना भाइरसको उद्गमस्थल हो, चीनको उहान सहर। चीनको हुबेई प्रान्तमा पर्ने यो सहर कोरोना भाइरसका कारण साढे दुई महिना बन्धक बन्यो। ७६ दिनको लकडाउन दुई साताअघि सकिएपछि उहान सहर खुल्न थालेको हो।
चाइना डेलीका अनुसार अहिले यो सहरमा जनजीवन सामान्य भइसकेको छ। चीनले उहानलाई कोरोना भाइरसको कम जोखिमयुक्त क्षेत्र घोषणा गरेको छ।
उहान सहर पुरानै दैनिकीमा फर्किन थालेको छ। हाइस्पिड ट्रेन, मेट्रो ट्रेन, सार्वजनिक यातायात, रेस्टुरेन्ट, होटेल र उद्योग आदि खुला भएका छन्। अहिले उहान सहरमा व्यस्तता छाएको छ। ट्राफिक जाम हुन थालेको छ।
गएको शनिबार उहान जाल क्लबका खेलाडीले मैदानमा अभ्यास गरेका छन् ।
पछिल्ला दुई सातामा त्यहाँ नयाँ संक्रमण देखिएको छैन। चीनमा कोरोनाबाट ४ हजार ६३२ जनाले ज्यान गुमाएका छन्। गएको डिसेम्बर अन्तिम साता उहानमा कोरोनाको पहिलो संक्रमण देखा परेको थियो।
त्यसपछि विश्वभर फैलिएको यो भाइरसले महामारीको रुप लिएको छ। अहिलेसम्म करिब २५ लाख मानिसमा यसको संक्रमण भइसकेको छ भने १ लाख ७७ हजारको मृत्यु भइसकेको छ।