पेरिस- कोरोना भाइरस संक्रमणको विश्वव्यापी प्रकोपका कारण विश्वमा गरिबी र खाद्यान्नको अभावको सामना गर्नुपर्ने जनसंख्या अहिलेको भन्दा दोब्बर पुग्न सक्ने प्रक्षेपण गरिएको छ।
कोरोना भाइरसका कारण विश्वमा खाद्यान्न अभाव झेल्ने गरिबको जनसंख्या दोब्बर हुन सक्ने संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूफपी) ले मंगलबार चेतावनी दिएको हो। डब्ल्यूएफपी र अन्य साझेदारले विश्वभरि खाद्यान्न संकटबारे नयाँ अध्ययन प्रतिवेदन जारी गरेपछि यो चेतावनी आएको हो।
“कोभिड– १९ को कारण विश्वव्यापी रूपमा आउने आर्थिक मन्दीका कारण सन् २०२० मा चरम खाद्यान्न अभाव सामना गर्ने जनसंख्या २६ करोड पुग्ने देखिएको छ,” विश्व खाद्य कार्यक्रमले कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा परेको आर्थिक मन्दी र यसबाट निम्तिन सक्ने समस्याबारे गरेको प्रक्षेपण प्रतिवेदनमा उल्लेख छ।
सन् २०१९ मा चरम खाद्यान्न अभावका कारण सहयोगको आवश्यकता रहेको जनसंख्या १३ करोड ५० लाख रहेकोमा सन् २०२० मा यो संख्यामा थप १३ करोड थपिने र चरम खाद्यान्न अभाव यस वर्ष दोब्बर हुने प्रक्षेपण गरिएको हो।
खाद्य संकटमा चौथो वार्षिक विश्वव्यापी प्रतिवेदनले कोरोना भाइरस प्रकोपका कारण सिर्जित स्वास्थ्य संकटसँगै विश्वव्यापी रूपमा भएका बन्दाबन्दीका घोषणा वा व्यवसायिक गथिविधिमा प्रभावित पारेका कारण विश्वमा संक्रमणपछि केही समय मन्दी छाउने र मन्दीको प्रभाव कति समय रहनेछ भन्ने कोरोना भाइरस संक्रमणलाई कति छिट्टै नियन्त्रणमा लिन सकिन्छ भन्नेमा आधारित हुने जनाएको छ।
प्रतिवेदनमा कोरोना भाइरस संक्रमण सुरु हुनुअघि गत वर्षदेखि नै खाद्यान्न असुरक्षा बढेको उल्लेख पनि गरिएको छ।
उक्त प्रतिवेदनमा सन् २०१९ मा विश्वका ५५ मुलुकका १३ करोड ५० लाख व्यक्तिचरम खाद्यान्न संकटको अवस्थामा रहेका कारण खाद्यान्न सहयोगको आवश्यक रहेको थियो।
प्रतिवेदन तयार गर्ने क्रममा चार वर्ष पहिलेको भन्दा सन् २०१९ मा खाद्यान्न संकटको सामना गर्ने मानिसहरूको संख्या दुई करोड बढेको थियो। जुन यसअघिको तुलनामा निकै बढी हो।
विश्व खाद्य संगठन र राष्ट्रसंघको खाद्यान्न तथा कृषि संगठनले उक्त रिपोर्टलाई मंगलबार नै राष्ट्रसंघ सुरक्षा परिषद्मा प्रस्तुत गरिने कार्यक्रम छ।
गत वर्ष र यस वर्षको रिपोर्टमा ५० भन्दा बढी मुलुकमा खाद्यान संकट रहेको र त्यहाँको झण्डै १० प्रतिशत अर्थात् १२ करोड ३० लाखमा खाद्यान्न संकट रहेको उल्लेख छ।
द्वन्द्व, आर्थिक संकट र खडेरीजस्ता मौसमसम्बन्धी घटनाहरूको कारण खाद्यान्न संकटमा वृद्धि आएको हो। प्रतिवेदनमा थप १८ करोड ३० लाख जनसंख्या खाद्यान्न संकटको समस्यानजिक रहेको देखिएको छ।
कोभिड–१९ सहजै त्यस्तो संकट भइदिएको छ कि यसका कारण विश्वका बिरामी व्यक्तिहरूले अस्पतालहरूमा भीडलाई निम्त्यायो र सरकारहरूले लकडाउन लगाए जसले अर्थव्यवस्थामा बाधा ल्याइदियो जसका कारण लाखौँ मानिसलाई कामविहीन बनाएको छ।
डब्ल्यूएफपीका वरिष्ठ अर्थशास्त्री आरिफ हुसेनले एक विज्ञप्तिमा भनेका छन्, “कोभिड–१९ सम्भवतः लाखौंका लागि विनाशकारी हो जो पहिले नै धागामा झुण्डिएका छन्।”
“हामीले यो विश्वव्यापी प्रकोपको प्रभाव न्यूनीकरण गर्न सामूहिक रूपमा अब कार्य गर्नुपर्दछ,“ उनले भने। तथ्यांक संकलन गरी प्रतिवेदनलाई धेरै समूह र सहायता संगठनहरूको सहयोगमा प्रत्येक वर्ष प्रकाशित गरिन्छ।