बुधबार, मंसिर १७, २०८२

रहेनन् प्रेरक कृषि वैज्ञानिक

गण्डकी कृषि विकास परियोजना प्रमुखको रूपमा रहँदा उनले पोखराबाट भारतीय तरकारी विस्थापन गरे। जुम्लामा मकै पुर्‍याउन हर्कुलस विमान ल्याए।
 |  मंगलबार, वैशाख ९, २०७७

महेश्वर आचार्य

महेश्वर आचार्य

मंगलबार, वैशाख ९, २०७७

काठमाडौं- तनहुँ च्यानडाँडामा जन्मिएका प्रयागदत्त तेवारीले दुःख गरेर पढे। भारतको पुनाबाट कृषिमा बीएस्सी उत्तीर्ण भएपछि स्विजरल्यान्डबाट एमएस्सी गरे। जागिरे जीवन दोलखाको जिरीबाट सुरु भयो।

National life

१७ वर्ष सरकारी जागिर र संयुक्त राष्ट्रसंघअन्तर्गतको कृषि हेर्ने निकाय आइफाडको उच्च पदस्थ कृषि वैज्ञानिक प्रयागदत्त तेवारीको परिचय यति मात्र छैन।

कृषि फार्म खोल्न जिरी पठाइएका उनी त्यहाँ विद्यालय र अस्पतालसमेत स्थापना गरेर तनहुँको खैरेनीटार पुगे। गण्डकी कृषि विकास परियोजना प्रमुखको रूपमा रहँदा उनले पोखराबाट भारतीय तरकारी विस्थापन गरे। जुम्लामा मकै पुर्‍याउन हर्कुलस विमान ल्याए।

कृषि सामग्री संस्थानका संस्थापक महाप्रबन्धक तेवारी ठेकेदारमा विश्वास गर्दैनथे। न त चाटुककार प्रशासकको बीचमा इमान छाड्थे। त्यसैले कर्मचारीतन्त्रको कोपभाजनमा परेर १७ वर्षे सरकारी जागिर छाडेर अन्यत्र लागे।

तर कर्म गर्नेलाई कसले रोक्न सक्छ र? अविचलित जुटिरहे।

Laxmi sunrise bank
kumari

‘तेवारीको संघर्षमय पढाइ र सरकारी जागिर हुँदै राष्ट्रसंघको उच्चपदस्थ जागिरबाट अवकाश पाउँदासम्मको यात्रा साहसिक, रोमाञ्चक र लोभलाग्दो छ,’ सहकर्मी कृषि वैज्ञानिक शिवबहादुर नेपाली सम्झन्छन्।

तेवारीको सधैं चिन्ता हुन्थ्यो, नेपालको कृषि क्षेत्रलाई कसरी उन्नत र आधुनिक बनाउने। त्यसैले त उनी जेटी, जेटीएलगायत तल्लो तहका कृषि प्राविधिकलाई तालिम लिन विदेश पठाइरहन्थे। तगारो बन्थ्यो, हाम्रो कर्मचारीतन्त्र।

मन्त्री रिझाएर उनीहरुकै मान्छेलाई तालिममा पठाउन खोज्थे कर्मचारी। मन्त्री पनि के कम? तल्लो तहका प्राविधिक कर्मचारी गए हुने ठाउँमा आफैं जान्थे तालिममा। यस्तो प्रवृत्तिले तेवारी दिक्क थिए।

स्विस सरकारको सहयोगमा सञ्चालित जिरी कृषि बहुउद्देश्यीय फार्म र जर्मन सरकारको सहयोगमा सञ्चालित गण्डकी कृषि विकास परियोजना (खैरिनीटार) मा तेवारीको योगदान छ।

खैरेनीटारमा रहँदा पोखरा र आसपास क्षेत्रमा स्थानीयलाई खेतबारीमै तरकारी लगाउन प्रोत्साहन गरेपछि त्यस क्षेत्रका धेरैले उनको तारिफ गरेको नेपालीको स्मरणमा ताजै छ।

तेवारी कहिल्यै काम गर्न पछि हटेनन्। दुग्ध विकास संस्थानमा हाकिम हुँदा उनी आफैंले दूधको क्यान बोक्ने गरेको धेरै सहकर्मी बताउँछन्।

‘उहाँ इमानदार र हक्की हुनुहुथ्यो। कृषिको विकास कसरी गर्ने भन्ने उहाँको अनुभवमा आधारित विश्लेषण नेपाललाई अझ कयौं वर्षसम्म मार्गदर्शक बन्छ,’ नेपाली भन्छन्।

लेखक मिलन बगालेले तेवारीका अनुभव समेटेर ‘एक घर एक रोजगार’ पुस्तक लेखेका छन्। जसमा तेवारीको कृषि अनुभवको विस्तृत विवरण छ।

तेवारीले भनेका छन्, ‘नेपाललाई स्विट्जरल्यान्ड जस्तो बनाइदिन्छु भन्ने अधिकांश नेताले स्विट्जरल्यान्ड कसरी समृद्ध भयो भनेर जान्ने प्रयासै गरेका छैनन्।’

वैज्ञानिक नेपाली तेवारीलाई उधृत गर्दै भन्छन्, ‘राजनीतिको वास्ता नगरी काममै घोटिने मजस्ता प्राणीलाई पञ्चायती व्यवस्थामै हाइसन्चो थियो। काम गर्ने वातावरण अहिलेभन्दा धेरै राम्रो थियो।’

‘एकपटक उहाँ जिरी कृषि फार्ममा कार्यरत रहेका बेला बाटामा जाँदै गर्दा हिउँ पर्‍यो। ओड्ने ओछ्याउने केही थिएन। आफूसँग भएको लुगामा गुटुमुटु परेर रुखमुनि ओत लाग्नुभयो। रातभर हिउँमै बस्नुभयो। धन्न, बिहान घाम लागेपछि हिउँ पन्छाएर आउनुभएछ,’ नेपाली सम्झन्छन्, ‘त्यो बेला उहाँ कालको मुखबाट फर्कनुभएको हो।’

यतिसम्मका हठी तेवारीलाई कालले जितेरै छाड्यो। ८८ वर्षको उमेरमा मंगलबार काठमाडौंको नर्भिक अस्पतालमा उनको निधन भयो।

अब्बल कृषि वैज्ञानिक तेवारीप्रति श्रद्धासुमन!!

प्रकाशित: Apr 21, 2020| 21:05 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।