नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ। आज (मंगलबार) एकैदिन ११ जना थपिएपछि संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
“उदयपुर जिल्ला त्रियुगा नगरपालिकास्थित भुल्केमा शंकास्पदको परीक्षण गर्दा १२ जनाको नतिजा पोजेटिभ भइ विराटनगरस्थित कोशी अस्पतालमा उपपचाररत रहेका छन् । निजहरुको संसर्गमा रहेका २६० जनाको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ देखिएको र २० जनाको हाल परीक्षण भइरहेको छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
अन्य थप ६९ जनाको परीक्षणको लागि विराटनगरस्थित कोशी अस्पतालमा नमुना पठाइएको थियो । त्यसमध्ये ८ जनाको नतिजा पोजेटिभ देखिएकाले थप परीक्षणको लागि आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्र्रतिष्ठानमा पठाइएकोमा परीक्षण गर्दा पुष्टि भएकाले उनीहरुलाई हाल विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि पठाइएको छ ।
अहिले पुष्टि भएका संक्रमितहरुमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२, र ५८ वर्षका पुरुष छन् भने ३६ वर्षीय एक महिला र एकजना उमेर नखुलेको महिला गरी जम्मा ११ जनामा कोरोनाको नतिजा पोजेटिभ देखिएको छ । यसरी अहिलेसम्मको विवरणअनुसार नेपालमा कोरोना पुष्टि भएकाको संख्या ४२ पुगेको छ ।
तीमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।