इटहरी- सुनसरीमा काठ तस्करी गर्ने तीन जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीले सोमबार राति रामधुनी नगरपालिका ६ स्थित बहत्तर बिघा क्षेत्रमा काठ तस्करी गरिरहेका तीन जनालाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय पकलीका प्रमुख डीआईजी नगेन्द्र थापाका अनुसार तीनै जनालाई डिभिजन वन कार्यालय इनरुवामा जिम्मा लगाइएको छ।
उनीहरुले को २ त ९९९० नम्बरको ट्रयाक्टरमा १२० क्युबिक फिट सखुवा काठ लाेड गरेर लैजाँदै थिए। पक्राउ पर्नेमा रामधुनी नगरपालिका स्थानीय रोशन राई, केशव खड्का र अर्जुन कार्की छन्।
काँचो सखुवाको काठ तस्करी गरेर भाग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको डीआईजी थापाले नेपाल समयलाई जानकारी दिए।
पक्राउ पर्नेको साथबाट स १ प ७४९८ नम्बरको मोटरसाइकलसहित ४ थान मोबाइल सेट बरामद गरिएको छ।